७५  वर्ष पुरानो कांग्रेसलाई उछिन्दै कैलालीमा पहिलो पार्टी बन्यो चार महिनाअघि खुलेकाे नागरिक उन्मुक्ति

निलम्बित सांसद रेशम चौधरीको रिहाइ र उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ ।

गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो ।

पार्टी गठनका योजनाकार रेशम भने जेलमै छन् । ७ भदौ ०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएका हुन् ।

जेलमै रहेर समर्थकलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दललाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको हो ।

पार्टी केन्द्रीय सदस्य योगेन्द्र तामाङले निर्वाचनमार्फत पार्टीलाई कैलालीका जनताले रुचाएको प्रतिक्रिया दिएका छन् । 

निर्वाचन आयोगले जनाएअनुसार ७५ वर्षे इतिहास बोकेको स्थापित दल नेपाली कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको हो । 



जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीत तहमा निर्वाचन जितेको छ । 

कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ । 



निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो । 

कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्की चुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ ।

आयोगका अनुसा माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन् ।

धनगढी उपमहानगरपालिका भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । 

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १९:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया