भरतपुरमा मतगणना एक लाख पुग्न लाग्दा रेनु ८७५६ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहाल सुवेदीभन्दा आठ हजार ७५६ मतले अगाडि छन् । अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको पुरै मत गन्न बाँकी छ ।

कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना देखिँदैन । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेका छन् ।

मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । २२ नम्बर वडाको मत गणना भइरहँदा माओवादीले एउटा मात्रै वडा जितेको छ । 



उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याएकी छन् । 

 



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १९:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया