९ वैशाखअघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले ९ वैशाखमा पदबाट राजीनामा दिए ।
गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उनी एमालेका तर्फबाट अध्यक्षमा निर्वाचित भएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गरेका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो ।
पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्ने क्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गरे । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे । फलतः उनी यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल भएका छन् ।
जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बनेका छन् । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्मअनुसार वडालाई शक्तिशाली बनाउने उनको योजना छ ।
‘सिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्याउने प्रयास गर्नेछु । स्रोतसाधन वितरण गरेर वडालाई अधिकारसम्पन्न बनाउनेछु,’ राईले भने, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउनेछु ।’ विकृति र विसंगतिको अन्त्य गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने उनले प्रतिबद्धता जनाएका छन् ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिएका छन् ।
राउतलगायत जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण–पत्र लिएका छन् । दुर्छिमदेखि हलेसीसम्म विजय र्याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उनले आफ्नो भूमिकालाई फराकिलो बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँछन् ।
यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका–४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी)का तर्फबाट उनी गाउँपालिकाका उपाध्यक्ष चुनिएका छन् ।
पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिए ।
कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त भएनन्, तर गठबन्धनका उम्मेदवार हराउन उनको मत पर्याप्त भयो । त्यसको फाइदा एमालेका गिरेन्द्रबहादुर राईले उठाए ।
तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित भए । तामाङले १००७ मत पाएका छन् । गिरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।