कर्णालीका यी जनप्रतिनिधि जसले स्वतन्त्र उठेर दलका उम्मेदवार हराए

कर्णाली प्रदेशका पालिकामा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारको संख्या कमी थिएन । दलगत निर्णयमा सन्तोष नभएका तथा आफ्नो क्षमता पहिल्याउँदै स्वतन्त्र उम्मेदवारी दिएपछि निर्वाचित हुनेहरुको संख्या पनि कर्णालीमा ठूलै छ ।

०७९ को स्थानीय निर्वाचनमा कर्णालीमा ६४ जना स्वतन्त्र उम्मेदवारले निर्वाचनमा विजय हासिल गरेका छन् । पालिकाको प्रमुख÷अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षलगायत पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले दलीय उम्मेदवारको तुलनामा आफूलाई लोकप्रिय रुपमा प्रस्तुत गरेरै छाडे ।

कर्णालीमा पालिका नगरपालिका प्रमुखमा दुईजना, गाउँपालिका अध्यक्षमा तीनजना र गाउँपालिका उपाध्यक्षका एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी, वडा अध्यक्षमा १९ जना, वडा सदस्यमा २० जना, महिला वडा सदस्यमा आठजना र दलित महिला वडा सदस्यमा नौजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

पालिका जित्नेहरु

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि कठायतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कठायत दुई हजार चार सय तीन मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै उम्मेदवार पदमबहादुर शाहीलाई ६२ मतान्तरले पराजित गरेका थिए । शाहीले दुई हजार तीन सय ४१ मत ल्याएका थिए ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार जसीप्रसाद पाण्डेलाई तीन सय १० मतान्तरले पराजित गरेका थिए । नगरपालिकाको प्रमुख पदमा निर्वाचित शाहीले दुई हजार नौ सय १९ मत ल्याएका छन् ।



यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तेम्वा गुरुङलाई दुई सय ३३ मतान्तरले पराजित गरेका हुन् । अध्यक्ष पदमा निर्वाचित गुरुङले पाँच सय ३५ मत ल्याएका थिए ।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रमा आबद्व रहेका केसीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार केसीले कुल एक हजार आठ सय २२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डम्बरबहादुर शाहीलाई चार सय ९७ मतान्तरले पराजित गरेका थिए ।



हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् । गाउँपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित शाही एक हजार ६ सय ९५ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गोविन्दबहादुर शाहीलाई पाँच सय २४ मतान्तरले पराजित गरेका थिए ।

यता, डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेनगुरुङ निर्वाचित भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका उपप्रमुखमा स्वतन्त्र उम्मेदवार गुरुङले एक हजार एक सय तीन मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पेमा डोल्मा गुरुङलाई आठ सय २७ मतान्तरले पराजित गरेका थिए ।

वडा हाक्नेहरु

कर्णालीका १९ वडामा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन् ।

मुगुको सोरु गाउँपालिका–१ मा धनकर्ण छत्याल, सोरु गाउँपालिका–४ मा गोर्खबहादुर मल्ल, सोरु गाउँपालिका–८ मा हंश कार्की विजयी भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा धनबहादुर कामी, गुठिचौर गाउँपालिका–३ मा इन्द्र बुढा निर्वाचित भएका छन् ।

यसैगरी, कालिकोटको नरहरीनाथ गाउँपालिका–५ मा मानबहादुर सहकारी, पलाता गाउँपालिका–७ मा कलबहादुर बम, हुम्लाको चंखेली गाउँपालिका–४ मा पदमबहादुर शाही, चंखेली गाउँपालिका–५ मा हर्कधन तामाङ, चंखेली गाउँपालिका–६ मा जयबहादुर सिरा, नाम्खा गाउँपालिका–२ मा समक्याप लामा, नाम्खा गाउँपालिका–३ मा ग्यामजो तामाङ र सर्केगाड गाउँपालिका–३ मा अकिलबहादुर कार्की विजयी भएका छन् ।

जाजरकोटको कुसे गाउँपालिका–२ मा मानबहादुर सिंह, कुसे गाउँपालिका–५ मा हरिबहादुर सिंह, नलगाड नगरपालिका–११ मा लालबहादुर वानियाँ, बारेकोट गाउँपालिका–७ मा विशाल किरण बस्नेत निर्वाचित भएका छन् । दैलेखको भैरवी गाउँपालिका–४ मा चक्रप्रसाद शर्मा र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ मा सुन्दर ओली वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रदेशभरका १९ वडामा स्वतन्त्र उम्मेदवारी दिएका उनीहरु वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

वडा सदस्यमा लोकप्रिय

कर्णाली प्रदेशका वडाहरुमा महिला सदस्य पदमा निर्वाचित हुने स्वतन्त्र उम्मेदवारहरुको संख्या आठ रहेको छ । मुगुको सोरु गाउँपालिका–१ मा सिर्जना मल्ल, सोरु गाउँपालिका–८ मा बुर्कला कामी, जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा हरिनी बडुवाल, कालिकोटको महावै गाउँपालिका–५ मा नानी शाहीले वडा सदस्यतमा स्वतन्त्र उम्मेदवारीका साथ निर्वाचित भएका छन् । 

यसैगरी, हुम्लाको चंखेली गाउँपालिका–४मा माया जैसी, जाजरकोटको छेडागाड नगरपालिका–५ मा देवसरा अधिकारी, नलगाड नगरपालिका–११ मा कमलाकुमारी बानियाँ र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा कमला बोहरा निर्वाचित भएका हुन् ।

वडाहरुमा दलित महिला सदस्यतर्फ भने प्रदेशभर नौजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । मुगुको सोरु गाउँपालिका–८ मा चखुल्ली भियाल, सोरु गाउँपालिका–११ मा बाचु सार्की, जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पुल्ती सार्की, कनकासुन्दरी गाउँपालिका–८ मा चनाखी कुलाला, हुम्लाको चंखेली गाउँपालिका–३ मा मोतिशीला कामी, जाजरकोटको छेडागाड नगरपालिका–५ मा नानकली दमाई, नलगाड नगरपालिका–११ मा परमिला दमाई, दैलेखको गुराँस गाउँपालिका–२ मा सोमती कामी र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा लालसरा कामी वडाको दलित महिला वडा सदस्य पदमा निर्वाचित भएका हुन् ।

वडा सदस्य पदमा डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–२ मा नोर्बु ग्याल्छन गुरुङ, मुगुको सोरु गाउँपालिका–१ मा विष्णु छत्याल र डिल्ली छत्याल, सोरु गाउँपालिका–८ मा चन्द्रनाथ योगी, जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ मा बलबहादुर बुढा, कनकासुन्दरी गाउँपालिका–५ मा पदमबहादुर कडारा, कनकासुन्दरी गाउँपालिका–८ मा गोल दमाइ र करजित सार्की निर्वाचित भएका छन् ।

यसैगरी, जुम्लाकै कनकासुन्दरी गाउँपालिका–५ मा कालिबहादुर भण्डारी, कालिकोटको खाँडाचक्र नगरपालिका–६ मा दिलबहादुर नेपाली, हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा छक्कबहादुर बुढा, खार्पुनाथ गाउँपालिका–२ मा लालबहादुर छत्याल र चन्द्रबहादुर रावल, चंखेली गाउँपालिका–२ मा हंस शाही, नाम्खा गाउँपालिका–१ मा पोन छतेन लामातामाङ, नाम्खा गाउँपालिका–३ मा तोप्दने लामा, नाम्खा गाउँपालिका–४ मा रिन्जेन सामफेल लामा, जाजरकोटको नलगाड नगरपालिमा–११ मा तप्तबहादुर बानियाँ, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा खडकबहादुर पुन र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा पूर्णबहादुर बुढा निर्वाचित भएका छन् ।

कति थिए स्वतन्त्र उम्मेदवार ?

कर्णाली प्रदेशभर ७९ वटा स्थानीय तह छन् । प्रदेशभर नौ सय ४६ जनाले पालिकाका विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या सबैभन्दा बढी वडा अध्यक्ष पदमा थियो । प्रदेशभर कुल ७१८ वटा वडा छन् । कुल तीन सय ५० जनाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

कर्णालीका नगरपालिकाको प्रमुख पदमा १८ जना र उपप्रमुख पदमा १३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसैगरी, प्रदेशका गाउँपालिकाको अध्यक्ष पदमा ३५ जना र उपाध्यक्ष पदमा २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसैगरी, महिला सदस्यतर्फ एक सय २३ जना, दलित महिला सदस्य पदमा ८८ र वडा सदस्य पदमा दुई सय ९० जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

फोटोहरुः
१ः राजु सिंह, प्रमुख, चन्दननाथ नगरपालिका, जुम्ला
२ः कमलबहादुर शाही, प्रमुख, खाँडाचक्र नगरपालिका, कालिकोट
३ः कार्मा छोइवेल गुरुङ, अध्यक्ष, डोल्पो बुद्ध गाउँपालिका, डोल्पा  
४ः मोहनबहादुर केसी, अध्यक्ष, सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
५ः प्यारीलाल शाही, अध्यक्ष, चंखेली गाउँपालिका, हुम्ला
६ः पेम्मा वाङछेन गुरुङ, उपाध्यक्ष, शे–फोक्सुन्डो गाउँपालिका, डोल्पा

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २२:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया