मंकीपक्सको जोखिम बढेपछि सरकारले भन्यो– विदेशबाट आउनेले दुई हप्ता क्वारेन्टाइनमा बस्नू

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै सरकारले त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।

उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरूमा निगरानी बढाएको बताए ।

‘विदेशबाट आउनेहरूले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाइको कुराहरू बढी महत्वपूर्ण छ । कुनै पनि चिजहरू सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भने पनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरू हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरूको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने त्यसको उपचार गर्न सहज हुन्छ र अरूलाई पनि सर्दैन ।’

उनले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्ने बताए । सहप्रवक्ता अधिकारीले यो संक्रमण अधिकांश बालबालिकामा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । 

मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि उनले बताए । ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरू हुने, बिमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरूलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरूलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ,’ सहप्रवक्ता अधिकारीले भने । 



मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशका घना जंगलमा रहेका जनावरको सम्पर्कमा आउने मानिसमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातिका जनावरमा यसको भाइरस रहन्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको हालसम्मको अध्ययनले देखाएको छ । 

यो समाचार तयार पार्दासम्म विश्वका ७ देशमा ३० जनाभन्दा धेरै मानिसमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भएर सरेको हुनसक्ने अनुमान छ ।   



  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १३:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया