कांग्रेसका प्रवक्ता भन्छन्– निर्वाचनमा एमालेले धाँधली गर्यो

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । 

सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले धाँधली गरेको आरोप लगाएका हुन् । 

‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो भन्ने कुरामा सत्यता छैन,’ प्रवक्ता महतले भने, बवरु बाजुराको बुढिगंगा नगरपालिकामा व्यापक धाँधली भयो । नगरपालिकाको २, ३, ५, ९ नम्बर वडामा बुथ कब्जा गरियो । सुरक्षा निकाय पनि पस्न नसक्ने बनाइयो । यो कब्जा एमालेको नेताहरुको नेतृत्वमा भयो ।’  

निर्वाचनमा धाँधली गरेर मतपेटिकासमेत एमालेका नेताहरु आफैँले बोकेर जिल्ला पुर्याएको उनले जनाए । यसलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने उनले बताए । 

‘निर्वाचन आयोगलाई तत्काल कुनै पनि प्रभावमा नपरी चारवटा वडामा पुन निर्वाचन गराउन माग गर्दछौँ,’ प्रवक्ता महतले भने । 

‘निर्वाचन परिणाम सन्तोषजनक’
 
प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । 



‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौँ । नेपाली कांग्रेस आफैँले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौँ ।’  

निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे । 



अन्तरघात नभएको भए चार सयभन्दा बढी पालिका जित्ने दाबी 

महतले कांग्रेसभित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको जनाए । 

‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन, ४०० को नजिक जित संख्या पुयाउँथ्यौँ भन्ने हाम्रो अनुमान छ,’ उनले भने । 

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । 

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समीक्षा गर्ला । यद्यपि नतिजा सकारात्मक छ, सन्तुष्टिजनक छ,’ प्रवक्ता महतले भने ।  

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए । 

‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ । मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासिल गरेका छौँ,’ उनले भने । 

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १७:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया