नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले ल्याउन लागेको आगामी आर्थिक् वर्षको बजेट कस्तो हुनुपर्छ भन्नेबारे सुझाब दिएका छन् । उनले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्।
नेता पौडेलले खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाब दिएका हुन्।
वर्षौंदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको उल्ेख गर्दै उनले भनेका छन्, ‘१६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो। अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’
नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाब छ । उनले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ।’
उनले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्ने सुझाब दिएका छन् ।
उनले भनेका छन्, ‘ता कि उत्पादनशील क्षेत्रमा तत्कालै पुँजीगत लगानी होस्। खर्च बढी गरेर नै भए पनि पुँजी बनाउने र उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापार घाटा कम गर्न अबको बजेट लक्षित हुनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।