मकवानपुरका १० स्थानीय तहमध्ये तीनमा मात्रै महिला उपाध्यक्ष

स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुईमा एक उम्मेदवार अनिवार्य गरेको थियो । तर, मकवानपुर जिल्लामा भने त्यो नियम लागू हुन पाएन । पाँच दल मिलेर चुनावी मैदानमा होमिएका कारण भागबण्डा मिलाउनका लागि केही पालिकाबाहेक अरु सबैमा गठबन्धनले पुरुषलाई नै उपाध्यक्षको टिकट दिएको थियो । 

निर्वाचनमा ०७४ सालको स्थानीय तह निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा महिला उपाध्यक्ष बनेका थिए । जिल्लाको थाहा नगरपालिकाबाहेक अन्यमा महिला उपाध्यक्ष थिए । सो बेला हेटौंडा उपमहानगरपालिकासहित आठ पालिकामा महिला उपाध्यक्ष पाएको मकवानपुरको स्थानीय तहले भर्खरै सम्पन्न निर्वाचनमा भने यसलाई निरन्तरता दिन सकेन । 

नेपाली कांग्रेस, मओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच सत्तारुढ राजनीतिक दलको गठबन्धनको भागबण्डा मिलाउने क्रममा उपाध्यक्षमा समेत महिलाको पालो आउन सकेन । तर, एक्लै चुनावी मैदानमा होमिएको नेकपा एमालेले भने जिल्लाको नौवटा स्थानीय तहमा अध्यक्ष पदको उम्मेदवार पुरुष बनाएर बकैया गाउँपालिकामा महिलालाई अध्यक्ष र पुरुषलाई उपाध्यक्षको टिकट दिएको थियो । बाँकी सबै पालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो । 

गठबन्धनसँग जित हासिल गर्न नसक्दा एमालेबाट एकजना मात्रै महिला उपाध्यक्ष पदमा आएकी छन् भने गठबन्धनतर्फबाट दुईजना महिला गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा नौजना महिला उपाध्यक्ष रहेको मकवानपुरमा अबको पाँच वर्षको कार्यकालका लागि तीनजना मात्रैले उपाध्यक्षको अधिकार पाएका छन् । गठबन्धनबाट महिलाले टिकट नपाएका कारण महिलाहरुले अधिकार गुमाउनुुपरेको जिल्लाका केही विज्ञहरु बताउँछन् । 

इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेकी उमाकुमारी लामा पुनः दास्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । उनले ३ हजार ७ सय २५ मत पाएर विजयी भएकी हुन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत ल्याएर उमाकुमारीसँग हार ब्यहोरेकी हुन् ।

त्यस्तै, मनहरी गाउँपालिकामा गठबन्धनतर्फबाट नेकपा माओवादीकी सीता पुलामी मगर (रेखा) विजयी भएकी छिन् । रेखाले ७ हजार ४७० मत गर्दा नेकपा एमालेकी सुजिता थिङले ५ हजार १३८ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १४१ मत प्राप्त गरेकी थिइन् ।



त्यस्तै, मकवानपुरगढी गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीकी मानकुमारी पाख्रिन ६ हजार ११० मतसहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सन्तु थिङले ५ हजार २ सय ४ मत ल्याउँदा राप्रपाकी हिरादेवी हुमागाईंले २ सय ७ मत ल्याइन् । 

यसअघि, ०७४ को स्थानीय निर्वाचनमा मकवानपुरगढीको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । मनहरी गाउँपालिकामा सीता, इन्द्रसरोवरमा उमा लामा र मकवानपुरगढीकी मानकुमारी पाख्रिनबाहेक बाँकी सातवटा स्थानीय तहमा पुरुष उपाध्यक्ष निर्वाचित भएका हुन् । 



हेटौँडा उपमहानगरपालिकामा उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । थाहा नगरपालिकामा कांग्रेसका भरत गोपाली ८ हजार ६ सय ७ मत प्राप्त गरी विजय भएका हुन् । भीमफेदीको उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गरे । यस्तै, कैलाश गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)का बालकुमार मल्ल विजयी भएका हुन् । उनले ४ हजार ८८ मत प्राप्त गरेर उपाध्यक्ष पदमा जित हासिल गरेका हुन् ।

यस्तै, राक्सिराङको उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गरेका हुन् । यसैगरी, बकैया गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्तबहादुर खत्री विजयी भएका छन् । खत्री ९ हजार ५ सय २२ मतसहित विजयी भएका हुन् । यस्तै, बागमती गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिना विजयी भएका छन् । उनले ७ हजार ९ सय ३५ मत ल्याएका हुन् ।

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २१:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया