बाराको जितपुरसिमरा २० निवासी दीपक पासवानको हत्याको आरोपित दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिीपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।
स्थानीय राजबंशी पासवानका छोरा वर्ष २५ को दीपक पासवानलाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेला परेको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
बारा प्रहरीले गरेको अनुसन्धानबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनका छोरा वर्ष २० को शेख नवि आलम र सोही ठाउँ बस्ने शेख जैनुलका छोरा वर्ष २१ का शेख सलिम समेत मिली दीपक पासवानको घाँटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा)ले प्रहर गरी निर्ममतापूर्वक हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अपराधबाट बच्नका लागि मृतकको लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदातपश्चात् गाउँघर छाडी भागी फरार भएको र उनिलाई खोजतलासको क्रममा जेठ ८ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।