नेकपा एमाले कास्कीमा अहिले चरम गुटबन्दी छ । त्यसको सिकार एउटै चुनावमा दुई उम्मेदवार भए । मनोनयनअघि दीपक पौडेललाई टिकट दिएपछि एमालेका खगराज अधिकारी पक्षले उनको सुन चोरीको भिडियो छताछुल्ल बनाए ।
त्यही भिडियोले केन्द्रीय नेतृत्वले पौडेलको टिकट खोसिदियो । र, खगराज समूहकै भनिएका कृष्ण थापालाई टिकट थमायो । पौडेल पृथ्वीसुब्बा गुरुङ गुटको मानिन्छन् ।
मनोनयन अघिसम्म माहोल राम्रै बनाएका थापालाई पार्टी भित्रैबाट झेल हुन थाल्यो । भित्रभित्र पार्टीकै नेताहरू फरक कित्तामा उभिएको आरोपप्रत्यारोप छ । उनलाई पृथ्वीसुब्बा समूहका नेताहरूले असहयोग गरेको बताइन्छ । त्यसो त, अहिले आइरहेका वडा हेर्दा पनि केही हदसम्म पुष्टि हुन्छ । टिकट खोसिएपछि पौडेल पनि चुप बसे, थापाको प्रचारमा हिँडेनन् ।
पोखरामा एमालेले २०७४ मा जितेका अधिकांश वडा गुमाइसकेको छ । ११ वडा मात्रै जितेको कांग्रेसले २० वडा पुर्यायो । एमाले २२ बाट झरेर ९ वडामा सीमित छ । केही वडाको गन्न अझै बाँकी छ । रोचक कुरा के छ भने, एमालेले आफ्नो पकड (किल्ला) दाबी गरेका वडाहरू धमाधम गुमाइरहेको छ । एमालेबाट मेयरकै उम्मेदवार कृष्ण थापाको वडामा अध्यक्ष कांग्रेसले जितेको छ ।
अघिल्लो चुनावमा २ सय ६५ मतान्तरले वडाध्यक्षसहित प्यानलै चुनाव जितेको एमालेले अहिले १ सय ४८ मतान्तरले अध्यक्ष चुनाव हार्यो । उम्मेदवार मात्रै होइन, उम्मेदवारी खोसिएका मेयरको वडामा पनि चुनाव एमालेले हार्यो । अघिल्लोपटक ४ सय ६३ मतान्तरले प्यानल चुनाव जितेकोमा यसपालि ५१ मतान्तरले वडाध्यक्ष कांग्रेसले जित्यो ।
अर्को महत्वपूर्ण वडा हो ३१ । पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य खगराज अधिकारीको वडामा यसपालि एमाले पराजित भयो । यसअघि ५ सय मतान्तरले एमाले उम्मेदवार विजयी भएका यो वडामा अहिले १ सय ६१ मतान्तरले कांग्रेस विजयी भयो । यी वडाहरूको रिजल्टबाट थाहा हुन्छ, कि एमालेभित्र चरम अन्तरविरोधको अवस्था छ ।
मेयरको टिकट खोसिएका पौडेलको वडाबाट मेयरका उम्मेदवार कृष्ण थापाले पनि कम मत पाएका छन् । थापाले २ हजार २ सय ६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३ सय ५४ मत पाए ।
उपमेयरमा भने एमालेकै उम्मेदवारले लिड गरिन् । एमालेकी मञ्जुदेवी गुरूङले २ हजार ६ सय मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले २ हजार ५ सय ५ मत पाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।