हनुमाननगरका मेयरको पहिलो निर्णय : किसानलाई पेन्सन र रासन कार्ड दिइने

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले विपन्‍न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

जनमत पार्टीबाट निर्वाचित भएर पदभार ग्रहण गर्दै उनले विपन्‍न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । माझीले जन्म, विवाह र मृत्यु दर्ताको प्रमाणपत्रसँगै वृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा भूमि उपलब्ध गराइने प्रतिबद्धता उनले व्यक्त गरे । उनले जग्गा र घर समेत नहुने अति विपन्न परिवारलाई एकीकृत वस्तीमार्फत वासको व्यवस्था गर्ने योजना रहेको बताए ।

लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको भनाइ छ । किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि मेयर माझीले गरेका छन् ।

नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने, वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।   





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ७:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया