भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु : रेणु दाहाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन् । 

मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक । देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ । त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनिन् । दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने दाबी गरिन् । 

मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन् । दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए । 

आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन् । पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन् । 

‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,' उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सही मूल्यांकन गरेर अनुमोदन गर्नुभएको छ ।’ 



महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन् । महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्ध, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन् । 



महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन् । अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन् । स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन् ।

उपमेयरमा निर्वाचित अधिकारीले मेयर दाहालका योजना सम्पन्न गर्नमा आफ्नो सहयोगी भूमिका रहने बताए । ‘काम गर्ने क्रममा आउने चुनौतीलाई अवसरका रुपमा लिएर भरतपुरको चौतर्फी विकास गर्नका लागि सहयोगी भूमिका रहन्छ । हाम्रो त्यो दायित्व पनि हो’, उनले भने । 

उपमेयरमा निर्वाचित अधिकारीले ५२ हजार ८०३ मत ल्याए । निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत ल्याइन् । निर्वाचित मेयर लगायतका जनप्रतिनिधिले आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । 

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १४:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया