कति सम्भावना छ दीपक मनाङेको सपथ ?

काठमाडौं– मनाङबाट गण्डकी प्रदेशको प्रदेश सभाको निर्वाचन जितेका राजीव गुरुङ (दीपक मनाङे) अहिले आफूले प्रदेश सभामा सपथ खान पाउनु पर्छ भन्ने लबिङ गर्न पोखरा पुगेका छन् । 

यसअघि उनले आइतबार नै सपथ खाने कार्यक्रम तय भइसकेको थियो । तर, प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आइतबार उनलाई सपथ खुवाएनन् ।

आइतबार नै काठमाडौंबाट पोखरा पुगेका मनाङेले त्यसपछि भेटघाटलाई तीव्रता दिए । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर उनले आफूले सपथ लिन पाउनु पर्ने कुरा राखे ।

उनी प्रदेश सभाको बैठक चलिरहकै समयमा प्रदेश सभा पुगेका थिए । प्रदेश सभाको बैठक २६ गतेसम्मका लागि स्थगित गरिएको सूचना सभामुखले जारी गरेपछि बाहिर निस्किएका अन्य सदस्यहरुसँग बसेर मनाङेले चिया पिए ।

‘त्यो सबै समयमा उनको एकमात्र ध्येय थियो,’ एक प्रदेश सभा सदस्यले भने, ‘उनी तत्कालै आफ्नो सपथ होस् भन्ने चाहन्छन् ।’

त्यसो त दीपक मनाङेलाई सभामुख अधिकारीले पनि केही दिन समय दिन अनुरोध गरेका छन् । ‘केही दिनमा निर्णय हुन्छ, यतिका समय त कुरेँ, अब दुईचार दिन कुर्दा के नै बिग्रन्छ र ?’ मनाङेले प्रदेश सभामा पत्रकारहरुसँग मात्र होइन, प्रदेश सभाका अन्य सदस्यहरुसँग पनि सुनाएका थिए ।



‘आफ्नो सपथ हुनेमा उनी कन्फिडेन्ट छन्,’ गण्डकी प्रदेशका एक सदस्यले भने, ‘त्यसैले उनले यस विषयमा धेरै चिन्ता लिएको देखिँदैन । हामी सदस्यहरुबीच चाहिँ उनको विषयमा छलफल नै भएको छैन ।’

आफूले निर्वाचन जितेको प्रमाण पत्र लिइसकेको भन्दै मनाङेले आफ्नो सपथ नहुनुमा कुनै कारण नभएको बताउँदै आएका छन् । 



संघीय संसद्मा रेशम चौधरीले सपथ लिएपछि मनाङेको आत्मबल बढेको ती प्रदेश सभा सदस्यको ठहर छ । 

‘केन्द्रमा रेशम चौधरीले सपथ लिने,’ ती प्रदेश सभा सदस्यले भने, ‘यहाँ मैले लिन नपाउने भन्ने किन हुन्छ भन्ने भावनामा मनाङे छन् ।’

आइतबार पोखरा पुगेका मनाङेले योबीच अधिकांश सांसद भेटिसकेका पनि छन् । तीमध्ये अधिकांश सांसद उनले सपथ लिन पाउनु पर्ने पक्षमा छन् । 

‘कोही पनि दीपकले यसकारण सपथ लिन पाउनु हुँदैन भन्नेमा छैनन्,’ ती सांसद्ले भने, ‘त्यसैले सम्भवतः २६ गते सभा बैठक सुरु भए पनि उनले सपथ लिन्छन् होला ।’

अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरुले पनि मनाङेलाई सपथ गराउनु भन्ने निर्देशन दिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका एक नेताले भने, ‘यता सरकारलाई अल्टिमेटम दिएकाले जेलमा रहेका रेशम चौधरीलाई सपथ खुवाउन हुन्छ भने निर्वाचन जितेका मनाङेलाई किन नहुने ?’ उनले मनाङेलाई सपथ खुवाउँदा कुनै समस्या नपर्ने भएकाले उनलाई सपथ खुवाएर यो मुद्दा किनारा लगाउनु पर्ने तर्क गरे ।

प्रदेश सभाका अधिकांश सदस्य, नेपाल कम्युनिस्ट पार्टीका नेताहरु नै मनाङेको सपथको पक्षमा भएकाले उनले २६ गते प्रदेश सभा बैठक सुरु भए लगत्तै उनको सपथ हुनसक्ने अनुमान छ । 

  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार १२:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया