हेटौंडा उपमहानगरमा बेथिति : नवनिर्वाचित जनप्रतिनिधिलाई आफूखुसी नयाँ फर्निचर

हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर तथा विभिन्न वडाध्यक्षका लागि सार्वजनिक खरिद ऐनविपरीत लाखौँको सामान खरिद भएको छ । गत आइतबार उपमहानगर प्रशासनले फर्निचरलगायतका सामान खरिद गरेर ल्याएको हो । 

उपमहानगरले सोफासेट, टेबुल, कुर्सी, झ्यालका पर्दा, टेलिभिजनलगायतका सामग्री बिनाकोटेसन खरिद ऐनविपरीत ल्याएको हो । सेटिङमा लाखौँ रकमको फर्निचर ल्याएर कागज मिलाउन मात्रै बल्ल कोटेसन ल्याउने तयारी गरिएको खरिद शाखाका वसन्तकुमार सिटौलाले बताउँछन् । 

मेयर र उपमेयरले समेत आफूलाई नयाँ फर्निचर ल्याएको बारे थाहा नभएको र काम लाग्ने हुँदाहुँदै खरिद गर्नु नपर्ने बताउँदै आएका छन् । तर, काम लाग्ने थियो वा थिएन भन्ने विषयमा जनप्रतिनिधि भने मौन बसेका छन् । 

उनीहरू नियमविपरीत खरिद भएको भन्ने जान्दाजान्दै 'तै चुप मै चुप' रहेका छन् । सार्वजनिक स्थलमा नगरमा सुशासन तथा मितव्ययिता कायम गर्ने भाषण गर्ने गरेका मेयर/उपमेयरले कार्यान्वयन भने गरेको देखिँदैन । 

उपमहानगरका मेयर/उपमेयरलाई समेत थाहा नदिई जनताको प्रत्यक्ष सरोकार रहेको नगरप्रशासनले कमिसनका लागि दरभाउबिना लाखौंको सामान खरिद गर्दा पनि जनप्रतिनिधि चुप देखिएका हुन् ।

फर्निचरलगायतको खरिद प्रक्रियाबारे मंगलबार जानकारी माग्दा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले कागजात खरिद शाखामा रहेको बताए । यता, खरिद शाखाले कोटेसनलगायतका कुनै पनि कागजात नरहेको तर ल्याउन लागिएको जानकारी दिएका पछि प्रमुख प्रशासकीय अधिकृत चौलागाईं नाजवाफ बनेका थिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १५:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया