मकवानपुरमा दोहोरिन चाहेका ६ मध्ये तीनजना निर्वाचित

स्थानीय तह निर्वाचन ०७९ अन्तर्गत मकवानपुर जिल्लाको तीनवटा गाउँपालिकाको नेतृत्वमा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । मकवानपुरको बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकामा पुरानै नेतृत्व दोहोरिएका हुन् । 

बागमतीमा माओवादीका सर्केश घलान, भीमफेदीमा एमालेका हिदम लामा र राक्सिराङमा कांग्रेसका राजकुमार मल्लले दोस्रो कार्यकालको लागि नेतृत्व गर्ने अवसर पाएका हुन् ।
मकवानपुरको १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका प्रमुखहरुले दोहोरिने दाउमा उम्मेदवारी दर्ता गरेका थिए । जसमध्येबाट तीनजना पुनः पालिकाको नेतृत्वमा दोहोरिएका हुन् । 

बागमतीका घलानले एमालेका खेमराज जर्घा मगर, भीमफेदीका लामाले माओवादीका बद्रीबहादुर स्याङ्तान र राक्सिराङका मल्लले एमालेका बाबुलाल स्याङ्तानलाई हराउँदै दोस्रो कार्यकालका लागि पनि जित निकालेका हुन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाबाहेक सबै पालिकामा पुरानै नेतृत्वले दोहोर्याउने चाहनासहित उम्मेदवारी दिएका थिए ।

दोस्रो कार्यकालको नेतृत्व गर्ने इच्छासहित चुनाव लडेका मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती कांग्रेसका रञ्जन कालाखेतीसँग पराजित भए । त्यसैगरी, मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईं कांग्रेसका दोर्जे लामा स्याङ्तानसँग पराजित भए । अघिल्लो निर्वाचनमा हुमागाईंले स्याङ्तानलाई नै पराजित गरेका थिए । अघिल्लो चुनावमा एमालेबाट जिते पनि पार्टी विभाजनसँगै नेकपा (एकीकृत समाजवादी)मा लागेका कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले पनि हार व्यहोरे ।

यस्तै, इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामा पनि यसपटक पराजित भए । अघिल्लोपटक एमालेबाट निर्वाचित उनी पार्टी विभाजनसँगै नेकपा एसतर्फ लागेका थिए । पहिले पाँच वर्षको कार्यकाल सम्हालेर पनि दोस्रो कार्यकालको लागि निर्वाचित पालिका प्रमुख भने तीनजना रहेका छन् । 

भीमफेदी
जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा दोस्रो कार्यकालको लागि पनि एमालेका हिदम लामाले नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । लामा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 



एमालेका लामाले ५ हजार ५ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । माओवादीका स्याङ्तानले ५ हजार २ सय ९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राक्सिराङ
मकवानपुरकोे राक्सिराङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएर आफ्नो नेतृत्व दोहोर्याएका छन् । उनी ५ हजार ४ सय ८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षका अर्का प्रत्यासी एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरेका हुन् ।



बागमती
बागमती गाउँपालिकाकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् । ७ हजार ३ सय ८४ मत प्राप्त गरी घलान दोस्रो कार्यकालको लागि निर्वाचित भए । अध्यक्षका अर्का प्रत्याशी नेकपा एमालेका खेम जर्गामगरले ६ हजार १ सय ६६ मत प्राप्त गरे । घलानले जर्गालाई १ हजार २ सय १८ मतान्तरले पराजित गरेर आफ्नो दोस्रो कार्यकाल सुनिश्चित गर्न सफल भएका हुन् ।

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १८:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया