मतदाता शिक्षा अभावका कारण बझाङमा धेरै मत बदर, एउटै पालिकामा २८.२२ प्रतिशतसम्म मत बदर

मतदाता शिक्षा अभावका कारण बझाङमा १० प्रतिशतभन्दा धेरै मत बदर भएको छ । ग्रामीण भेगमा मतदातालाई मतदानसम्बन्धी जानकारी दिन नसक्दा बदर मत बढी भएको हो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा बझाङमा पालिकाको प्रमुखतर्फ १० र उपप्रमुख तर्फ १६ प्रतिशतभन्दा बढी मत बदर भएका छन् ।

निर्वाचन आयोगले यसअघि मतदाता शिक्षाको लागि घरदैलो कार्यक्रम सञ्चालनमा ल्याउने र मतदाताको घरमा नै गएर मतदान गर्ने तरिकाबारेमा जानकारी दिने गर्थ्यो, तर यसपटक स्थानीय निर्वाचनमा मतदान केन्द्रमै सूचना केन्द्र राख्ने र घरदैलो कार्यक्रम हटाइएपछि मत बदर बढी भएको स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गरिरहेका दीर्घराज उपाध्यायले बताए । ‘

जनतालाई सही तरिकाले मतदान गर्नका लागि मतदाता शिक्षा दिइनुपर्थ्यो​, तर यसपालि त्यस्तो भएन । मतदान केन्द्रमा नै मतदाता शिक्षा केन्द्र स्थापना गर्ने भनेको भए पनि त्यसले खासै प्रभाव नपार्दा बदर मत बढी भएको हो,’ पर्यवेक्षक उपाध्यायले बताए ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा बझाङ जिल्लामा सबैभन्दा बढी नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष, र नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्ष पदलाई खसेको मत बदर भएको छ । जिल्लाका १२ वटै पालिकाका प्रमुखका उम्मेदवारमा ७२ हजार १ सय २८ मत सदर हुँदा ८ हजार २ सय ५० मत बदर भएको छ । 

त्यस्तै स्थानीय तहको उपप्रमुखमा ६७ हजार ४ सय २९ मत सदर हुँदा १२ हजार ९ सय ४९ मत बदर भएको छ । पालिका प्रमुखमा खसेको जम्मा मतको १०.२६ र उपप्रमुखमा खसेको जम्मा मतको १६.११ प्रतिशत मत बदर भएको छ ।  

जिल्लाको साइपाल गाउँपालिकामा १ हजार ३ सय ३० मत खसेको मा अध्यक्षमा ३.०८ र उपाध्यक्षमा २.७१ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी, खप्तडछान्न गाउँपालिकामा खसेको कुल मतको अध्यक्षका ७.५२ र उपाध्यक्षमा १५.०८ प्रतिशत मत बदर भएको छ । खप्तड छान्ना गाउँपालिकामा ६ हजार ५ सय १८ मत खसेको थियो । 



छविस पाथिभेरा गाउँपालिकामा अध्यक्षमा १०.४७ र उपाध्यक्षमा १७.७९ प्रतिशत मत बदर भएको थियो । छविस पाथिभेरा गाउँपालिकामा कुल ६ हजार ४ सय ५७ मत खसेको थियो ।

तलकोट गाउँपालिकामा कुल ५ हजार ३ सय ७५ मतमा अध्यक्षमा ६.५५ र उपाध्यक्षका लागि ५.४७ प्रतिशत मत बदर भएको हो । ६ हजार ८ सय ८८ मत खसेको थलारा गाउँपालिकामा पनि बदर मत धेरै रहेको छ । गाउँपालिका अध्यक्षमा ९ र उपाध्यक्षमा १३.८५ प्रतिशत मत बदर भएको छ ।  



दुर्गाथली गाउँपालिकामा अध्यक्षका लागि ८.९७ र उपाध्यक्षमा १४.५० प्रतिशत मत बदर भएको छ । दुर्गाथली गाउँपालिकामा ५ हजार ४ सय ३३ मत खसेको थियो । यता, मष्टा गाउँपालिकामा खसेको ५ हजार ४ सय ३३ मत खसेको मा अध्यक्षमा १३.८५ र उपाध्यक्षमा ८.९७ प्रतिशत मत बदर भएको छ ।  

विथ्थडचिर गाउँपालिकामा कुल १० हजार ९ सय ३८ मतदातामध्ये ७ हजार ७ सय ८७ मत खसेको थियो । खसेको मतको अध्यक्षमा ९.३४ र उपाध्यक्षमा १५.६५ प्रतिशत मत बदर भएको हो । यस्तै, सुर्मा गाउँपालिकामा खसेको ४ हजार ३ सय १ मतमध्ये अध्यक्षमा ४.३० र उपाध्यक्षमा ४.२५ प्रतिशत मत बदर हुँदा केदारस्यूँ गाउँपालिकामा अध्यक्षमा १५.३३ र उपाध्यक्षमा २३.४९ प्रतिशत मत बदर भएको छ ।

जिल्लाका दुई नगरपालिकामध्ये बुंगल नगरपालिकामा सबैभन्दा बढी मत बदर भएको छ । बुंगल नगरपालिकामा १९ हजार ५ सय ७६ मतदाता रहेकोमा १३ हजार ५ सय १४ जनाले मतदान गरेको थिए । खसेको मतको १८.९७ प्रतिशत मेयरमा र २८.२२ प्रतिशत उपमेयरमा मत बदर भएको हो । 

यता, जयपृथ्वी नगरपालिकामा मेयरमा ६.४० र उपमेयरमा ११.८३ प्रतिशत मत बदर भएको छ । जयपृथ्वीमा १४ हजार २ सय ९१  मतदाता रहेकोमा ९ हजार ९४ मत खसेको थियो ।

जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेकोमा ८० हजार ३७८ अर्थात ६५.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जानएको छ । एउटै मतपत्रमा भिन्न–भिन्न उम्मेदवारलाई फरक–फरक चिह्नमा मतदान गर्न खोज्दा बढी मत बदर भएको हो । 

मतदाता शिक्षा दिने विषयमा दलहरूले कुनै चासो नराखेको र मतदाता अलमलमा पर्दा मत बदर धेरै भएको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए ।

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १८:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया