एमालेका चौलागाईंलाई ७६५ मतान्तरले हराउँदै तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मोहन चौलागाईंलाई झिनो मतले पराजित गर्दै मेयरमा खाण विजयी भएका हुन् । विजयी खाँणले २४ हजार ३९६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत पाए । 

७६५ मतको अन्तरले खाँण विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी उपमेयरमा विजयी भएकी हुन् । 

कांग्रेसका रूपन्देही जिल्ला सभापतिसमेत रहेका खाँण ०७४ को निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग २ हजार ७ सय मतान्तरले पराजित भएका थिए । रामकृष्ण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ पनि हुन् । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो । साथै, एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि यही पर्दछ । तिलोत्तमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्रसमेत हो । तिलोत्तमामा ०७४ सालमा एमालेले प्रमुख र उपप्रमुखसहित १३ वडाअध्यक्ष जितेको थियो ।

यसपटक भने कांग्रेसले नौ र एमालेले सातवटा वडाध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा एमालेले विजय हासिल गरेको छ । वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा कांग्रेसका उम्मेदवार विजयी भए । तिलोत्तमामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ६:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया