पाँच वर्षमा काठमाडौं महानगरबाहेक अरू काममा समय दिँदैन : मेयर शाह

काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र शाह विजयी भएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा शाह विजयी भएको औपचारिक घोषणा गरेको हो । 

घोषणापछि आफ्नो संक्षिप्त धारणा राख्दै नवनिर्वाचित मेयर शाहले काठमाडौंलाई अबको पाँच वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गरे । उनले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता पनि जनाए । शाहले विजयलाई नयाँ कार्यको थालनीको रूपमा लिएको बताए । 

‘सुरुवातको रूपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको सुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्णरूपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रूपमा लिएका छौँ । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौँ,’ बालेनले भने ।  

उनले मतगणनाको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पाँच वर्षमा आफ्नो मुख्य ध्यान काठमाडौं महानगरमा मात्र हुने पनि बताए । 

‘पाँच वर्षको कार्यकालमा काठमाडौं महानगरपालिकाबाहेक अरू कुनै पनि काममा व्यस्तता दिने छैन । आफ्नो सम्पूर्ण लगनशीलता, क्षमता, ज्ञान काठमाडौं महानगरपालिकालाई व्यवस्थित, स्वच्छ/सफा बनाउन, एउटा विश्वकै उत्कृष्ट शहर बनाउन क्षमता योग्यता, श्रम र कुशलतालाई काठमाडौं महानगरपालिकामा लगाउनेछु,’ बालेनले भने ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१ हजार ७६७ मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।



काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भएकी छन् । औपचारिक घोषणा कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर शाह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 



  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ९:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया