किन रेलमा यात्रा गर्छन् किम जङ–उन ?

उत्तर कोरियाली नेता किम जङ–उन अचानक अहिले चीनकाे यात्रामा छन् । उनी यसपटक जन्मदिन पनि चीनमा नै मनाउँदै छन् ।

उनकाे याे तेस्राे चीन भ्रमण हाे । २०११ देखि उत्तर कारियाको नेतृत्व गरिरहेका किम यसपटक श्रीमती लिएर चीन पुगेका छन् । यसअघिजस्तै यसपटक पनि किम हरियो रेलमा चढेर चीन पुगेका हुन् ।

विश्वभरका नेता समय बचाउन हवाई यात्रा गर्छन् । तर किम किन सधैं रेललाई प्राथमिकता दिन्छन् त ?

हवाई यात्रामा डर ?

किमका पिता किम जङ–इल पनि हवाई जहाजबाट यात्रा गर्नुलाई राम्रो मान्दैनथे । २००२ मा उनी तीन हप्ताको रुसको यात्रामा निस्केका थिए । त्यतिबेला उनीसँगै यात्रा गरेका एक रुसी कर्मचारीका अनुसार, यो रेलमा विश्वको सर्वाधिक महङ्गो वाइन र बारबिक्यु पनि हुन्थ्यो । र, ट्रेनमा शानदार पार्टी पनि हुन्थ्यो । किम जङ–इलले त्यही रेलबाट १०–१२ पटक चीनको यात्रा गरेका थिए ।

सिनियर किम लामो यात्राको लागि पनि रेल नै प्रयोग गर्थे । सन् १९८४ मा उनी यही रेलमा पूर्वी युरोपसम्म पनि पुगेका थिए । अफसोच ! उनको मृत्यु पनि हृदयघातका कारण रेलभित्रै भयो । तर, जुन ट्रेनमा किम जङ–उन वा उनका पिता यात्रा गर्थे त्यो रेल कुनै साधारण रेल थिएन ।



के थियो त रेलमा त्यस्तो खास ?

न्युयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको उक्त रेलमा २१ वटा हरिया रंगका कोच थिए । झ्यालमा ‘टिटेड’ सीसा पनि थियो । जसले गर्दा रेलभित्र को यात्रा गरिरहेको छ भन्ने थाहा पाईंदैन । उक्त रेलबारे त्यही रेलमा यात्रा गरेका केही कर्मचारी वा खुफिया रिपोर्ट को आधारमा मात्रै थाहा पाउन सकिन्छ ।



दक्षिण कोरियाको सन् २००९ को रिपोर्टका अनुसार किम जङको लागि कम्तिमा पनि ९० कोच भएको ‘हाई सेक्युरिटी’ रेल तयार हुन्छ । यही रिपोर्टका अनुसार किमका पिता किम जङ–इल जब यात्रामा निस्कन्थे, उनी तीनवटा रेलको प्रयोग गर्थे । त्यसमा एउटा ‘एड्भान्स सेक्युरीटी’ रेल हुन्थ्यो भने, अर्काे किमको रेल हुन्थ्यो । यसैगरि तेस्रो रेल अतिरिक्त सेक्युरीटी र अन्य सामानको प्रयोग गर्थे ।

बुलेट प्रूफ कोच पनि

रेलका हरेक डिब्बा बुलेट प्रुफ छन् । जो सामान्य रेलको तुुलनामा निकै सुरक्षित मानिन्छ । यसको ताैल धेरै हुनाले प्रतिघन्टा ३७ माइलको गतिमा यो गुड्छ । २००९ को रिपोर्टका अनुसार किम जङ–इलको एड्भान्स रेलमा १ सय सुरक्षाकर्मी हुन्थे ।

र, स्टेशनको जाँच गर्ने जिम्मा तिनीहरूको हुन्थ्यो । यो सँगै सुरक्षा व्यवस्था चुस्त बनाउन त्यसको माथी सैन्य हेलीकप्टर र हवाईजहाज पनि उड्थे । अर्काे चाखलाग्दो कुरा त के भने उत्तर कोरीयामा २२ रेलवे स्टेशन यस्ता छन्, जो किम जङको प्रयोगका लागि मात्रै बनाइएको छ ।

कस्तो होला रेलको भित्रि ढाँचा ?

उत्तर कोरियाका सरकारी मिडियाले कहिलेकाहीँ रेलभित्र यात्रा गरेका उनका नेताको भिडियो सार्वजनिक गर्छन् । सन् २०१५ मा यही रेलको एक कोचमा किम जङ–उन एक लामो सेतो टेबलमा बसेको देखिएको थियो । त्यो ‘कन्फ्रेन्स रुम’ जस्तो देखिन्थ्यो ।

२०११ मा उनका पिता पनि यसरी नै बसेर कुरा गरिरहेको भिडियो सार्वजनिक भएको थियो । पिताको साथमा फ्ल्याट स्क्रिन टिभी थियो भने छोराको भिडियोमा एउटा ल्यापटप देखिन्छ । एक बेलायती समाचारका अनुसार किम जङ–उन देशभित्रको यात्रामा पनि ‘मोबाइल ट्वाइलेट’ सँगै लिएर हिँड्ने गर्थे ।

आखिर डर केको त ?

के किम आफ्नो सुरक्षाको कारण नै यसरी डराएका हुन त ? यसको जवाफ १९९७ देखि ३ वर्षसम्म भारतका लागि उत्तर कोरियाका राजदूत रहेका जगजित सिंह भन्छन्– ‘डर त छ, किम मात्रै नभएर उत्तर कोरियाका पहिलेका नेता पनि सुरक्षाको विषयमा निकै सतर्क देखिन्थे । किम जङ–इल जति पटक मस्को वा बेइजिङ गए रेलमा नै गएका थिए ।’ सपराका अनुसार कोही पनि देशको शासक जहाज नभएर रेलमा विदेश यात्रामा गर्छ भने बुझ्न सकिन्छ कि, ऊ सुरक्षामा कति सतर्क छ ।

– एजेन्सी

  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार १८:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया