‘कबड्डी-४’ टिकटक क्लिपको सिकार, बुद्धिसागरले भने - फिल्म हेरौँ, मोबाइलले खिचेर टुक्राटाक्री पोस्ट गर्न बन्द गरौँ

लेखक बुद्धि सागरले मोबाइलमार्फत चलचित्रका भिडियो क्लिप खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका छन् ।

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’को मोबाइलबाट भिडियो क्लिप खिचेर टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट भएपछि उनले फिल्म हेर्न तर मोबाइलबाट खिचेर टुक्राटाक्री पोस्ट नगर्न आग्रह गरेका छन् ।

उनले फेसबुकमार्फत यस्तो कार्य गैरजिम्मेवार र गैरकानुनी भएको भन्दै सचेत गराएका छन् । 'फिल्म हेरौँ । तर, मोबाइलले खिचेर टुक्राटाक्री पोस्ट गर्न बन्द गरौँ । त्यो गैरजिम्मेवार र गैरकानुनी त हुँदै हो, केही दिन पछि हेर्नेलाई पनि अन्याय नै हुन्छ । राम्रा फिल्म बेला मौकामा बन्छन् । सबैलाई कथामा रमाउँन दिऊँ' उनले भनेका छन् ।

दयाहाङ राई अभिनित ‘कबड्डी-४’ रिलिज भएको पहिलो दिनमा नै फिल्मका महत्त्वपूर्ण क्लिपहरू सामाजिक सञ्जालमा पोस्ट भएका हुन् । अभिनेता राईले पनि मोबाइलमार्फत भिडियो क्लिप बनाउन आग्रह गरेका छन् ।

दर्शकहरूप्रति आभारी व्यक्त गर्दै उनले भनेका छन्, 'यसरी तपाईंहरूले सिनेमा हेरिरहँदा मोबाइल निकालेर भिडियो बनाउँदा तपाईंलाई पनी बाधा हुन सक्छ झनै तपाईंको नजिकको साथीलाई धेरै बाधा भइरहेको हुन्छ र हामीलाई पनि त्यसैले सबैजना बिनाबाधा सिनेमा हेर्नुहोस् आनन्द लिनुहोस् ।'

अर्का अभिनेता निश्चल बस्नेतले पनि चलचित्रलाई माया गर्न तर मोबाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गरेका छन् । उनले भिडियो खिचेको देख्दा रोक्न पनि दर्शकहरूलाई आग्रह गरेका छन् ।



'मनपरेको चलचित्र हेर्न टिकट काटेर हलसम्म पुगेर मस्त मजा लिनु हो । टिकटकमा क्लिप बनाउँदै हाल्नुभयो भने अरू हेर्न पर्खिरहेका दर्शकको मजा खराब गर्नु हो र कबड्डीका निर्मातालाई घाटा तिर धकेल्नु हो । यति त बुझिदिनुपर्यो दर्शकहरूले । कसैले खिचेको देखे त्यसो नगर्न भनी पनि दिन हुन अनुरोध,' उनले भनेका छन् ।

यस्तो कार्यप्रति फिल्म निर्माण टिमले पनि आपत्ति जनाएको छ । फिल्मका निर्देशक राम बाबु गुरुङले हलको कमजोरीका कारण यो अवस्था आएको बताएको भन्दै दर्शकहरूलाई पनि त्यस्तो नगरिदिन आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १८:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया