के विघटनको संघारमा नेवि संघकाे विराेध शैली फेरिएकाे हाे ?

काठमाडौं– मुलुकको विकास निर्माण र सुशासनको दुरावस्थाप्रति व्यंग्य गर्दै नेपाल विद्यार्थी संघले आज रानिपोखरीमा फुटबल खेलेर विरोध जनायो । नेवि संघ केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, विधार्थी नेता दुजाङ शेर्पा लगायतको टोली ब्यानरसहित फुटबल खेल्न रानीपोखरी पुग्याे । ब्यानरमा लेखिएको थिायो, ‘प्रधानमन्त्रीज्यू, विकासको सूचीमा रानीपोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि !’ 

डेढ घण्टाको फुटबल खेलमार्फत झुटो प्रचार र कुशासनको अवस्थाप्रति व्यंग्य गरिएको उपाध्यक्ष सुवेदीले जनाए ।

खेलमा संलग्न विद्यार्थी नेताका अनुसार संसद्मा प्रधानमन्त्रीले मुलुकको विकास र प्रगतिको झुटो तथ्यांक प्रस्तुत गरेपछि सांकेतिक विरोधस्वरुप उनीहरुले फुटबल खेलेका हुन् । 

‘काठमाडौंको केन्द्रमा रहेको रानीपोखरीको निर्माणमा त सरकार भेटिएन भने दूरदराजको अवस्था कस्तो होला ?’ खेलमा संलग्न एक विद्यार्थी नेताले प्रश्न गरे ।

पछिल्लो समय नेवि संघलगायत सबैजसो विद्यार्थी संगठनमाथि वैचारिक आन्दोलन र सिर्जनशील विरोधभन्दा ‘अराजक शैली’ अपनाउने गरेको आरोप लाग्दै आएको छ । तर, आजको नेविसंघको विरोधमा सिर्जनशीलता देखियो । 

नेवि संघ सिर्जनशील हुन खोजेकै हो त ? भन्ने प्रश्नमा त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सदस्य तथा नेविसंघ नेता नीलाम्बर रेग्मी भन्छन्, ‘सडक जाम, टायरको धुवाँ, तोडफोड र नाराबाजीलाई मात्रै आन्दोलन ठान्ने बानी नै परेको छ हामीलाई । तर, अब हामीले यो सोचाइ परिवर्तन गर्नुपर्छ । आन्दोलनको सिर्जनशील शैली अपनाउनुपर्छ ।’



विद्यार्थीलाई ‘विचारका संवाहक’ भन्दै उनी थप्छन्, ‘यो मुढेबलले राजनीति गर्ने समय होइन । अझ विद्यार्थी संगठनका लागि त राजनीति भन्नु नै सिर्जनशीलता र विचारको मन्थन हो ।’

दुई वर्षअघि महाधिवेशनबाट चुनिएको वर्तमान कार्यसमितिको म्याद सकिँदासम्म अर्को महाधिवेशनको टुंगो लाग्न नसकेपछि यतिखेर नेवि संघ केन्द्रीय समिति विघटनको संघारमा छ । तीन महिनाका लागि थपिएको नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद सकिनै लागेको छ ।



  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार २०:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया