बझाङमा फस्फोरस खानीको उत्खनन गरिने

आइतबार सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमा बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन् ।
 
यसअघि पनि सरकारले पटकपटक बझाङमा फस्फोरस उत्खनन गर्न अन्वेषण र अनुसन्धान सुरु गर्ने बताउँदै आएको थियो । ०७४ सालमा बझाङबाट फोस्फेटका ‘स्याम्पल’ खानी तथा भूगर्भ विभागको लैनचौरस्थित प्रयोगशालामा पुर्याइए पनि त्यसपछिका कुनै पनि विवरण सार्वजनिक भएनन् ।

नेपालका अन्य स्थानमा पनि फोस्फेट नभेटिएका होइनन्, तर बझाङ र बैतडीको सीमा क्षेत्रमा यसको उत्खननको सम्भावना अलि बढी छ, भन्ने प्रारम्भिक अनुमानका आधारमा फस्फोरस तत्वको अन्वेषण र अनुसन्धान सुरु गर्न लागिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले ०७४ सालमा बताए । 

बझाङका तारुगाढ, जुइलगाड, गोइचान, कन्देचौरलगायतका क्षेत्रमा विभागले फोस्फेट खानी रहेको अनुमान गरिएको छ । एक अध्ययनले बझाङ र बैतडीमा गरी करिब ९० लाख मेट्रिक टन फोस्फेट उत्खनन गर्न सकिने देखाएको छ ।

तर, सरकारी तवरबाट भने पहिलोपटक यसका बारेमा विस्तृत अध्ययनको प्रक्रिया ०७४ सालमा सुरु भएको थियो । फोस्फेट फस्फोरस तत्त्वको प्राथमिक स्रोत हो । यदि नेपालमा फस्फोरस उत्पादनका लागि फोस्फोराइट उत्खनन गर्न सकिए यसले ठूलो आर्थिक लाभ लिन सकिने विभागको ठम्याइ छ ।

‘रासायनिक मल उत्पादनका लागि यो अत्यावश्यक हुन्छ,’ खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र खनालले भने, ‘फस्फोरसको उत्पादन नेपालमै भए यसले नेपालमै रासायनिक मल उद्योग स्थापनामा पनि प्रोत्साहन दिन्छ ।’ 

अहिले नेपालमा झण्डै वार्षिक ३ लाख मेट्रिक टन रासायनिक मल विदेशबाटै आउँछ । रासायनिक मलको तीन महत्त्वपूर्ण तत्त्व नाइट्रोजन, फस्फोरस र पोटासियम हुन् । यसमध्ये फस्फोरस उत्खनन नेपालमै भए त्यसले देशलाई अधिकतम लाभ मिल्ने विश्वास सरकारको छ । 



फस्फोराइट, रासायनिक कृषि मल निर्माण गर्ने मुख्य खनिज कच्चा पदार्थ हो । नेपालजस्तो कृषिमा निर्भर अर्थतन्त्र भएको देशमा फस्फोराइट खानीको रणनीतिक महत्व हुन्छ । नेपालमा फस्फोराइट प्रारम्भिक अन्वेषणको काम धेरै पहिलेदेखि हुँदै आएको छ ।
 
केही स्ट्रोमाटोलाइट जीवशेषसहितको डोलोमाइट चट्टान र कालो चेर्ट, क्ले माटोबाट बनेको सेल चट्टानमा नेपालको बैतडीको ढिकगढदेखि बझाङको तारुगाढसम्म करिब ५० किलोमिटर लम्बाइमा ७० सेन्टिमिटरदेखि ४.७ किलोमिटर मोटाइ भएका पाँचदेखि ३२ प्रतिशत फस्फोराइट खनिजयुक्त भण्डार रहेको विभिन्न अध्ययनले देखाएका छन् ।



  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया