श्रीमानको चरम यातनाबाट गम्भीर घाइते माझीको मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।

पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटनालगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । 

गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्‍न  चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले  रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।



घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १०:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया