आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको क्रममा नाबालिगमाथि बारम्बार बलात्कार गरेको आरोपमा पक्राउ परेका सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेविरुद्ध सोमबार सात दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि थप सात दिनको समय दिएको हो ।
पाण्डेविरुद्ध सबैभन्दा पहिले ती पीडित युवतीले सामाजिक सन्जालमा भिडियो राखेर आफ्ना कुरा राखेकी थिइन् ।
त्यसपछि व्यापक दबाबमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बलात्कारसम्बन्धी मुद्दामा एक वर्षे हदम्यादका कारण पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद लिइएको छ ।
यहीबीच पाण्डेविरुद्ध अर्की एक नाबालिगले पनि आफूमाथि दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् ।
घटनाबारे जानकार पूर्वमिस नेपाल माल्भिका सुब्बासँग पनि प्रहरीले सोधपुछ गरेको छ । त्यस्तै, यही घटनाबारे जानकार फोटोग्राफर श्रीधर पौडेलसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ ।
प्रहरीले कन्सल्टेन्सी चलाउने भएकाले पाण्डेविरुद्ध विदेशमा रहेका अन्य युवतीहरुसँग पनि सोधपुछ गरिरहेको एक अधिकारीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।