सांसदलाई अर्थमन्त्रीको जवाफ - ढुक्क हुनुहोस्, बजेटमा पैसा बाँड्ने कार्यक्रम छैनन्

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन् । बुधबार राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहोर्‍याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गरे । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे । उनले प्रतिपक्ष दलहरूलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गरे ।

‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । तर यसमा बिल्कुल अनुदान छैन । प्रोत्साहन छ । किसानले दूध दुह्यो, त्यसले प्रोत्साहन पायो ।  प्रोत्साहन छ, अनुदान छैन । त्यसकारण यहाँ कतै बाँडिँदैन । दूध दुहेको बेला सरकारले भाट कसलाई दियो सोध्दैन, दूध दुह्यो कि दुहेन यति सोध्छ, त्यसकारण यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

मन्त्री शर्माले प्रतिपक्षले इण्डक्सन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाइएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताए । उनले इन्डक्सन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पारे । मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताए । उनले इन्डक्सन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको बताए ।

‘संरचना वृद्धि गर्दै जाँदा त्यसलाई सय प्रतिशत पुर्‍याउने कुरा हो । त्यसलाई सिंह दरबारबाट शुरु गर्ने भनिएको छ, बिस्तारै जनतामा जान्छ । योसँग भोट साट्ने कुरा विल्कुल छैन । ढुक्क हुनुभए हुन्छ,’ उनले भने ।

अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने बताए । उनले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए । 



मन्त्री शर्माले देश ठूलो संकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक संकटलाई सरकारले हालै प्रस्तुत गरेको बजेट नै समाधानको अन्तिम विकल्प रहेको बताए । उनले सरकारले देशभरबाट जनताले दिएका गुनासाका आधारमा नै बजेट निर्माण गरेको बताए ।

‘आज एकातिरबाट मैले सुनिरहेका छु, देश ठूलो संकटमा छ । यो संकटलाई यसले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ, यदी संकटमा छ भने पनि यसको समाधान यही हो । छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्को समाधान छैन । सरकारले आजको परिस्थितिलाई विचार गरेर, प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरू, देशभरबाट टोल फ्रि नम्बरमा यो बजेट बनाएको हो । मैले बनाएको होइन, यो बजेट तिनै गरिव उत्पीडित जनता यो देशका अर्थशास्त्री, बुद्धिजीवि, आम राजनीतिक पार्टीको मार्गनिर्देशनलाई मैले प्रस्तुत गरिदिएको मात्रै हो,’ उनले भने ।



अर्थमन्त्री शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनताले प्रस्ट रूपमा बुझिसकेको बताए । उनले जनताले बजेट कृषिमा जाने रहेछ भनेर कृषिमा लाग्नुपर्ने धारणा राखिरहेको बताए ।

  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १९:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया