सन्दीप लामिछानेको डेब्यु वर्षः ७ लिगका डेब्युमा १३ विकेट
सन्दीपले खेलेका यी ७ लिगमा यसअघि कुनै नेपाली खेलाडी थिएनन्

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने अहिले विश्वभरका सन्चार माध्यममा छाइरहेका छन् । 

आइतबारबाट बंगलादेश प्रिमियर लिग (बिपिएल) मा डेब्यु गरेका सन्दीपले यो वर्ष अहिलेसम्म सात विभिन्न देशका लिगहरुमा डेब्यु गरिसकेका छन् । सन्दीपले डेब्यु गरेका यी सातै लिगमा यसअघि कुनै पनि नेपाली खेलाडीले भाग लिएका छैनन् ।

सन्दीपका लागि यी डेब्यु डेब्युमा मात्र सिमित भने छैनन् । उनले त सबै डेब्युमा सानदार प्रदर्शन पनि गरेका छन् । 

अहिलेसम्म सन्दीपले गरेका सात डेब्यु :

 

इन्डिएन प्रिमियर लिग (आइपिएल)



सन्दीप लामिछानेलाई जब आइपिएलका लागि दिल्ली डेयरडेभिल्सले किन्ने भयो, नेपालमा एउटा ठूलो तरङ्ग फैलियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइपिएल हुँदाकै समयमा नेपाल आएका थिए । उनले राष्ट्रिय सभा गृहमा भने– नेपालीको छोरो सन्दीपले अहिले क्रिकेटमा देशको नाम राखेको छ ।

हुन पनि सन्दीपलाई दिल्ली डेयरडेभिल्सलले किने पनि प्लेइङ सेटमा उनी परेका थिए । दिल्लीका अन्तिम अन्तिम खेलमा जब उनी प्लेइङ सेटमा परे, उनले आफ्नो क्षमता प्रदर्शन गरे ।



३० वैशाखमा सन्दीपले आइपिएलमा पहिलो खेल खेले । २० लाख भारुमा अनुबन्धित सन्दीपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दा २५ रन खर्चेर एक विकेट लिए । रोयल च्यालेन्जर्स बैङ्लुरुविरुद्धको खेलमा डेब्यु गरेका सन्दीपले विराट कोहली, एवि डि भिलियर्सविरुद्ध बल फ्याँके । 

आइपिएलमा सन्दीपले चार खेल खेले । उनले दोस्रो खेलमा २१ रन दिएर एक विकेट तथा अन्तिम खेलमा ३६ रन दिएर ३ विकेट लिए । 

१२ औं सिजनको आइपिएलका लागि पनि सन्दीपलाई दिल्लीले नै आफ्नो टिममा राखेको छ ।

 

क्यारेवियन प्रिमियर लिग (सिपिएल)

आइपिएलका तीन खेलमा सनसनी मच्चाएपछि सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिगमा पनि छनिए । सिपिएलमा सन्दीप बेन्चमा बस्नु परेन । २५ साउनमा सन्दीपले सिपिएलमा डेब्यु गरे । 

सिपिएलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट गुयाना वारियर्सविरुद्ध उनले डेब्यु गरेका थिए । उक्त खेलमानै उनले ४ ओभर बलिङ गर्दै १२ रन दिए र २ विकेट लिएर अर्काे जादु देखाए । 

उनलाई सिपिएलको लागि ५ हजार अमेरिकी डलरमा अनुबन्धन गरिएको थियो ।

 

अफगानिस्तान प्रिमियर लिग (एपिएल)

गत २९ असोजमा अफगानिस्तान प्रिमियर लिग(एपिएल)मा सन्दीपले अर्काे डेब्यु गरे । तर, उनले एपिएलमा भने एक खेल मत्रै खेल्न पाए । नगरहर लिओपार्डबाट पत्तिया प्यानयर्स विरुद्ध उनले पहिलो र अन्तीम खेल खेलेका थिए । 

उनले एपिएलको डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिए । उनलाई लिओपार्डले १५ हजार अमेरिकी डलरमा आफ्नो टिममा भित्र्याएको थियो । 

 

ग्लोबल टी–२० क्यानडा लिग

गत असार १५ मा सन्दीपले क्यानडाको घरेलु लिगमा पनि डेब्यु गरे । मोन्ट्रियल टाइगर्सबाट डेब्यु गरेका सन्दीपले पहिलो खेलमा ५ ओभर बलिङ गर्दै ५७ रन दिएर १ विकेट हात पारे । 

४० हजार अमेरिकी डलमा क्यानडा लिग खेल्न गएका सन्दीलपे ५ खेलमा जम्मा ८ विकेट हात पारे । 

 

टी–१० लिग

गत वर्षदेखी सुरु भएको विश्वको सबैभन्दा छोटो फरमेटको लिग टी–१० खेल्ने मौका पनि सन्दीपले यसै वर्ष पाए । युएइमा आयोजना भएको टी–१० को दोस्रो सिजनमा सन्दीपले गत ६ मंसिरमा केरला नाइट्सबाट पख्तुनविरुद्ध डेब्यु गरेका थिए ।  

एक इनिङमा बढिमा दुई ओभर बलिङ गर्न पाइने टी–१० फरमेटमा उनले पहिलो खेलमा १७ रन दिएर ३ विकेट लिए । अघिल्ला तीन खेलमा लगातार राम्रो प्रदर्शन गरेका सन्दीपका लागि पछिल्लो तीन खेल भने विकेट विहिन रह्यो । टी–१० मा उनले ६ खेलमा जम्मा ६ विकेट लिन सफल भए । 

उनलाई केरलाले ३० हजार अमेरिकी डलर खर्चेर आफ्नो टिममा किनेको थियो । 

 

बिग बास लिग (विविएल)

अस्ट्रेलियाको घरेलु लिग विग बास लिग (विविएल) मा पनि सन्दीपले डेब्यु गरेका छन् । कुनै बेला विग बास खेल्ने सपना रहेको बताउने सन्दीप अन्ततः विविएलमा पनि छनौट भए । मेलबर्न स्टार्सले सन्दीपलाई आफ्नो टिममा भित्र्याएको थियो । 

सन्दीपले विविएलमा सिड्नी थन्डरविरुद्धको डेब्यु खेलमा २ विकेट लिएर सनसनी मच्चाए । ४ खेल खेलेका सन्दीपले विविएलमा अहिले सम्म ८ विकेट लिएका छन् । 

तर, विविएल चलिरहँदा सन्दीप भने बंगलादेश प्रिमियर लिग (विपिएल) खेल्न बंगलादेश पुगेका छन् । 

 

बंलगादेश प्रिमियर लिग (बिपिएल)

२२ पुसमा सन्दीपले साताैँ लिगका रुपमा बंगलादेश प्रिमियर लिगमा डेब्यु गरे । उनले सिल्हेट सिक्सर्सबाट कोमिल भिक्टेरियन्स विरुद्धको खेलमा डेब्यु गरे । पुरै ४ ओभर बलिङ गर्न पाएका सन्दीपले डेब्यु खेलमा १६ रन दिएर २ विकेट लिए । 

विभिन्न देशको लिग बाहेक यसै वर्ष  सन्दीपले आइसिसि वल्र्ड क्रिकेट टिम बाट पनि खेले । गत १८ जेठमा आइसिसि वल्र्ड टिम र वेस्टइन्डिज बीचको खेलमा उनले स्थान पाए । टी–२० फर्म्याटको उक्त खेलमा सन्दीपले एक ओभर बलिङ गर्दै १२ रन दिए तर, विकेट भने लिन सकेनन् । 

अब सन्दीपले यही वर्ष अर्को डेब्यु पनि गर्दै छन् । त्यो हो– पाकिस्तान प्रिमियर लिग । १७ फ्रेबुअरीबाट सुरु हुने पिपिएलका लागि सन्दीप छनोट भइसकेका छन् । उनलाई लाहोर कालन्दसेले न्यूनतम मूल्य ५० हजार अमेरिकी डलरमा खरिद गरेको हो । यसमा उनको प्रदर्शनी कस्तो हुने हो भन्ने हेर्न बाँकी छ । 

  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १६:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया