मिरुना-फुर्वा घटनामा उपेन्द्र सुब्बा : हामी फगत क्यारम बोर्डका गोटी मात्र हौं
फरकधार / १९ जेठ, २०७९

कबड्डी नायिका मिरुना मगर र फुर्वा लामा तामाङबीचको घटनाबारे लेखक उपेन्द्र सुब्बाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दुबै पक्षबीच मिलापत्र भइसकेको अवस्थामा यो विषयलाई धेरै लम्ब्याउनु उचित नहुने तर्क गरेका छन् ।



'दुई पक्षबीच मिलापत्र भइसकेको अवस्था छ । दुवै पक्षले आरोप-प्रत्यारोप नगर्ने भन्ने पनि छ । दोष कसको थियो भन्ने कुरामा तर्क-वितर्क नै नगरुम्।' उनले भनेका छन् ।

उनले सिसिटिभी फुटेजका आधारमा अभिनेत्री मिरुनालाई गालीगलौज गर्नेमाथि पनि प्रश्न गरेका छन् । उनले सिसिटिभी नभई मोबाइलबाट खिचिएका भिडियोहरूका आधारमा सर्वसाधारणले धारणा बनाइरहेको उल्लेख गर्दै त्यस्ता भिडियो कसले कुन उद्देश्यले अपलोड गर्‍यो भन्ने विषयमा पनि खोजी गर्न आग्रह गरेका छन् । उनले टिकटक भ्युज पाउनलाई बनाएको सामग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज हो भन्दै प्रश्नसमेत गरेका छन् ।
 
'ती भिडियो जसले पोस्ट गरेका छन्, तिनका एकाउन्ट एकचोटि खोलेर त हेर्नुस् । के त्यो व्यक्ति त्यति विश्वसनीय छ त ? समाजमा त्यो व्यक्तिले यति धेरै हैसियत राख्छ त ?' उनले भनेका छन्, 'तपाईंकै स्टाटसमा आएका कति कमेन्ट गर्ने मान्छेको प्रोफाइल चेक गर्नुस् त । प्रोफाइल लक गरेर गरेको छ । हामी फगत क्यारम बोर्डका गोटी मात्र हौँ ।'



१५ जेठमा ​मिरुनाले ब्याड टच गरेको आरोप लगाएपछि तामाङलाई प्रहरी पक्राउ गरेको थियो । ब्याड टच प्रकरणमा नायिका मगर र तामाङबीच १७ जेठमा समझदारी भएको थियो । सहमतिपत्रमा तामाङले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख थियो । 



त्यस्तै, उनले १८ जेठमा एक प्रेसनोट सार्वजनिक गर्दै आफ्नो कार्य व्यक्तिविरुद्ध भएको प्रस्ट पारेकी थिइन् । भनेकी थिइन्, 'जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्तिविरुद्ध भए तापनि यस घटनाबाट जान-अन्जानमा दुखित हुनुहुने बृहत् समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।'

तर, सहमतिपछि पनि यो विषयमाथि सामाजिक सञ्जालमा चर्चा सेलाएको छैन ।

  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १४:६:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया