कर्णालीमा एक वर्षमा ६६ प्रतिशतले महँगियो तरकारी
फाइल तस्वीर

गत वर्ष, २०७८ जेठ १ गते टमाटर (नेपाली) को मूल्य प्रतिकिलो २२ रुपैयाँ थियो । त्यसको १२ महिनापछि २०७९ जेठ १ गते टमाटरको मूल्य बढेर ४२ रुपैयाँ पुगेको छ ।

यसैगरी भारतीय टमाटरको मूल्य गत साल १९ रुपैयाँ प्रतिकिलो थियो । हाल आएर टमाटरको मूल्य ३३ रुपैयाँले बढेर ५२ रुपैयाँ प्रतिकिलो पुगेको छ । बढी मात्रामा मूल्य वृद्धि हुने तरकारीमा टमाटर नै पर्छ । त्यसपछि भान्टा, फर्सी, खुर्सानी र लसुन रहेका छन् । यी तरकारीमा ५० प्रतिशतभन्दा धैरै मूल्यवृद्धि भएको पाइएको छ ।

मूल्यवृद्धि दिन प्रतिदिन बढ्दो अवस्थामा छ । यसको पहिलो असर हाम्रो भान्सामा पर्ने गर्छ । तरकारी होस् या तेल, मूल्यवृद्धिका कारण महिनैपच्छे यसको दरभाउँ बढिरहेको देखिन्छ ।

सुर्खेतमा रहेको कृषि बजारमा तरकारीको सरदर बिक्री मूल्य तथ्यांक हेर्दा विगत एक वर्षको तुलनामा सुर्खेतमा करिव ६६ प्रतिशतका दरले तरकारीमा मूल्यवृद्धि भएको छ । कागती, आलु, जुम्ली सिमीलगायतका तरकारीको मूल्यवृद्धि दर पनि उच्च रहेको छ ।

कर्णालीमा खपत हुने तरकारी यहाँ उत्पादन छैन । छिमेकी मुलुक भारतलगायत नेपालका अन्य जिल्लाबाट तरकारी कर्णाली आइपुग्छ ।

‘अहिले कर्णालीमा तरकारी उत्पादन तथा यहाँसम्म ल्याइपुर्‍याउन ढुवानीसमेत महँगो भएको छ । तेलको मूल्यवृद्धि, बिउ तथा मलमा लागत खर्च बढेको बढ्यै छ’, कृषि बजार सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले भने, ‘तरकारीको मूल्य सिजनमा कम हुन्छ, बेसिजनमा उच्च रहन्छ । वृद्धिदर यति नै छ भन्ने त छैन तर मूल्य भने बढी नै रहेको छ ।’  



विगत चार वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा कृषिउपज वस्तुहरूको उत्पादन बढ्न थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशबाट स्याउ, सुन्तला, सिमी, तरकारी, अदुवा, आलु, मह, दूधलगायतका कृषिउपज निर्यात हुन थालेका छन् ।

कृषि उपज निर्यातको तथ्यांकअनुसार कर्णालीबाट सबैभन्दा धेरै आलु निर्यात भएको देखिन्छ । चार वर्षको अवधिमा प्रदेशबाट पाँच हजार ६ सय ७५ मेट्रिकटन आलु निर्यात भएको हो । यसैगरी चार करोड बढी मेट्रिकटन अदुवा निर्यात भएको छ । एक हजार पाँच सय मेट्रिकटन स्याउ निर्यात भएको छ । १२ सय मेट्रिकटन सुन्तला निर्यात भएको छ ।



कर्णालीले सुन्तला निर्यात गरेर पाँच करोड रूपैयाँ आम्दानी गरेको छ भने पाँच हजार ७० मेट्रिकटन सिमी निर्यात गरेर ६ करोड रूपैयाँ आम्दानी गरेको छ । प्रदेश सरकारले चार वर्षको अवधिमा ६ करोड ५० लाखको दूध निर्यात गरेको छ भने एक करोड १० लाखका भैंसीका पाडापाढी बिक्री गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मको अवधिमा फलफूल, तरकारी, दूध र मासुजन्य पदार्थको बिक्रीबाट एक अर्ब पाँच करोड रूपैयाँ कर्णालीले प्राप्त गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कर्णालीमा कृषिउपज उत्पादन तथा निर्यातमा प्रदेश सरकारले विशेष ध्यान दिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही बताउँछन् ।

उनले भने, ‘प्रदेश सरकारले कर्णालीका उत्पादन निर्यातमा विशेष ध्यान दिएको छ । कर्णालीका उत्पादनले बजार पाउँन थालेका छन् ।’

कर्णाली प्रदेशसभामा बोल्दै उनले सडकको पहुँच बढ्दै जानु, बाँझो जमिनमा उत्पादन बढ्नु र कृषकहरूलाई सहुलियत ऋण र अनुदान प्रदेश सरकारबाट उपलब्ध हुनु लगायतका कारणले उत्पादन वृद्धिसँगै निर्यात बढ्न थालेको दाबी गरे ।

विगत चार आर्थिक वर्षमा प्रदेशमा कृषिउपजको उत्पादन तथा निर्यातको अवस्था हेर्ने हो भने कर्णालीको अवस्था सुध्रिएको उनको दाबी छ । कर्णाली भन्नेबित्तिकै भोक, रोग र गरिबीको चित्र मानसपटलमा आउँदा अब कर्णाली निर्यातको बाटोमा पुग्न थालेको उनले बताए ।

विगत एक वर्षमा भएको तरकारीको मूल्यवृद्धि

  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १६:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया