डा‍. केसीकाे १६ औं अनसन
अनशन सुरु गर्नुअघि डा. केसीले किन उठाए प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि प्रश्न ?

काठमाडौं– यसअघि आफूसँग भएको सम्झौता विपरित संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रा. डा. गोविन्द केसीले आफ्नो १६ औं अनशन सुरु गरेका छन् । यसपटक उनी अनशन बस्न इलाम पुगेका छन् । 

यसअघि उनी जुम्लामा अनशन बस्दा सरकारले उनका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । तर, संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट विधेयक पारित गर्यो । यो विधेयकमा आफूसँग भएका सम्झौता तोडमोड गरिएको भन्दै गोविन्द केसीले अनशन सुरु गरेका हुन् ।

अनशन सुरु गर्नुभन्दा पहिले केसीले दुई पृष्ठ लामो विज्ञप्ति पढे । विज्ञप्तिमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुलाई गम्भीर आरोप लगाएका छन् । 

त्यसमध्ये उनले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि पनि प्रश्न उठाएका छन् । 

उनको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्दतिका दुश्प्रभावका कारण निर्णय क्षमतामा असर परेको देखिनु दुर्भाग्यपूर्ण हो ।’ उनले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँदै अहिलेको भद्रगोल, अराजकता तथा दण्डहीनताको जिम्मेवारी ओलीले नै लिनु पर्ने वकालत गरेका छन् ।

नेताको स्वास्थ्यमाथि डा. गोविन्द केसीले प्रश्न उठाएको यो पहिलो पटक होइन । त्यसो त ओलीको स्वास्थ्यमाथि प्रश्न उठेको पनि यो पहिलो पटक होइन । पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बन्नु अघिको माओवादी पार्टीका नेताहरुले नै पनि ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँथे ।



यसअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्दा केसीले ओलीको स्वास्थ्यमाथि खासै टिप्पणी गरेका थिएनन् । तर, यसपटक उनको विज्ञप्तिमा ओलीको स्वास्थ्य पनि प्राथमिकतामा परेको छ ।

आखिर किन ?



डा. गोविन्द केसी निकट लेखक तथा अभियन्ता डा. जीवन क्षेत्री भन्छन्, ‘अहिले ओलीको स्वास्थ्यको कुरा किन उठ्यो भन्दा पनि यसअघि किन उठेको थिएन भन्नेबारे हामीले सोच्नु पर्छ ।’ पछिल्लो समय सानो पदमा जागिर खान खोज्दा वा कुनै कम्पनीले अनुबन्धन गर्नुपूर्व निरोगिताको प्रमाण पत्र खोज्ने तर हामीले देशको कार्यकारी प्रमुखको स्वास्थ्यबारे बहस नै नगर्नु गलत भएको उनको ठहर छ । ‘ओलीको स्वास्थ्यमाथि बहस पहिले देखि नै हुनुपथ्र्यो,’ उनी भन्छन् ।

डा. केसीले आफ्नो विज्ञप्तिमा ओलीको स्वास्थ्यबारे प्रश्न उठाउन चाहिँ यो विधेयक पारित गर्दा र केसीसँग भएका सम्झौता तोडमोड गरिँदा ओलीको प्रभाव रहेकाले हुनसक्ने उनले निष्कर्ष निकालेका छन् ।

‘प्रधानमन्त्री भएकाले नै पनि केपी ओलीको भूमिका यसमा पक्कै छ, उहाँले यसअघि गरेको सम्झौता सम्झेर चाहनुभएको भए सदनबाट यो पारित हुनसक्थ्यो, सम्झौता कार्यान्वयन हुन सक्थे,’ उनले भने, ‘तर, जालझेल गर्नकै लागि यो संसदीय समितिमा पठाइयो, ह्विप लाग्ने पार्लियामेन्टमा यस्तो निर्णय लिनुले उहाँको निर्णय क्षमतमाथि प्रश्न उठाउँछ ।’ ओलीको निर्णय क्षमतामाथि प्रश्न उनको स्वास्थ्यका कारण उठाइएकाले पनि डा. केसीले ओलीको स्वास्थ्यबारेको सन्दर्भ उल्लेख गरेको क्षेत्री बताउँछन् ।

‘अहिले त सन्दर्भमात्र निस्किएको हो,’ उनले भने, ‘यसबारे बहस गर्दा ठिक होला ।’

  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार २०:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया