सिसडोल पुगेर बालेनले भने : १ हप्तामा गन्ध हराउने केमिकल छर्किन्छौँ, ३ महिनामा मल र ग्यास निकाल्छौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।  

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र सड्ने फोहोर छुट्याउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ’ उनले भने ।

मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्याउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्‍याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका थिए । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १४:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया