‘पन्ध्रौंचुली’को गृह लोकार्पण

लेखक एवं सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फस्र्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रमा लेखक सरुभक्त र सीमाविद् मधुसूदन अधिकारले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । 

उक्त कार्यक्रममा सरुभक्त, मधुसूदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उत्तमबाबु भट्टराईले पुस्तकका विभिन्न आयाममा चर्चा गरे । 

उत्तमबाबु भट्टराईले ‘पन्ध्रौंचुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताए । उनले थपे, ‘हामीकहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमाल छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थान विन्दु हुन सक्छ ।’ 

अर्का वक्ता अधिकारीले भने, ‘सगरमाथाको उचाइ मात्र होइन, गहिराइ पनि छ । लेखक खिमलाल गौतमले सगरमाथाको उचाइ त नापेका नै छन्, त्यसको गहिराइ पनि नापेका छन् ।’

सगरमाथा आरोहणबारे ‘चुली’ उपन्यास लेखेका सरुभक्तले भने, ‘पुस्तक पढ्दै गर्दा मलाई मैले काल्पनिक आरोहीको कथा जुन मैले लेखेको थिएँ, त्यही काल्पनिक आरोही भएर सगरमाथा चढिराखेको झैँ महसुस गरेँ । कति ठाउँमा म भावुक भएँ, कति ठाउँमा रोमाञ्चित ।’ उनले थपे, ‘पन्ध्रौं चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो ।’

कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौंचुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र गर्यौँ यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भ सामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैपर्यो भनेर यसमा हात हालेको हुँ ।’  



राष्ट्रसेवाका अवसरमा आफू दुई–दुईपटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उनको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उनले भने, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छ । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’ 

सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुईपटक सगरमाथाको चुली चुमेका छन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्न ०६८ सालमा पहिलोपटक शिखर यात्रा गरेका उनी दोस्रोचोटि भने सरकारको कार्यक्रमअन्तर्गत ०७६ सालमा उचाइमापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ । तर, उनको टोलीका लागि लक्ष्य सुरु भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो । 



‘पन्ध्रौंचुली’ साहस, जोखिम र संघर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उनलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्राकथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । 
 

  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १९:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया