सात दिनमा बालेनले क–कसलाई भेटे ? के पाए आश्वासन ?

बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै सक्रिय छन् । चुनावअघि जुन जोशका साथ मैदानमा थिए अहिले पनि उनी त्यत्तिकै सक्रिय छन् । 

मेयरको पदभार ग्रहणलगत्तै बालेनले काठमाडौंको फोहोर व्यवस्थापनलाई नै प्राथमिकतामा राखे । त्यसका लागि उनले राजनीतिक दलका शीर्ष नेतादेखि प्रधानमन्त्रीसँग पनि भेट गरे ।  

मेयर भएपछि उनको पहिलो ठूलो भेट प्रधानसेनापति प्रभुराम शर्मासँग  भयो । बालेनले मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापतिसग भेट गरेका हुन् ।  

भेटमा उनले विपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।   

बालेनले पहिलो राजनीतिक भेट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरे । उनले भक्तपुरस्थित बालकोट पुगेर ओलीसँग भेट गरेका थिए । भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘उहाँले दिनुभएको प्रेरणाले हामीलाई थप ऊर्जावान बनाएको छ ।’

ओलीपछि उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ पनि पुगे । मेयर शाहले बालुवाटर नै पुगेर देउवालाई भेटका थिए । भेटका क्रममा देउवाले उनको खुलेरै प्रशंसा गरे । 



‘तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु । ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ । मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ भेटमा देउवाले भनेका थिए, ‘महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ, अपनाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग  सहयोग हुनेछ ।’   

स्वतन्त्रबाट मेयरमा जितेका बालेनले राजनीतिक भेट गरेपछि आलोचना पनि खेपे । आलोचनापछि बालेनले यो विषयमा प्रष्ट पारेका छन् । ‘स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ,’ उनले भनेका छन् । 



बालेनले दुई पार्टीका शीर्ष नेतापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भेट गरे । गत शनिबार खुमलटारमै पुगेर उनले प्रचण्डसँग भेट गरेका हुन् । 

भेटमा मेयर शाहलाई प्रचण्डले बधाई दिँदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका थिए । प्रचण्डले बालेनको जितलाई ‘क्रान्ति’को संज्ञा पनि दिन भ्याए । भेटका क्रममा उनले प्रचण्डसँग उपत्यकाको फोहोर व्यवस्थापनलगायत समग्र विकासका विषयमा पनि कुराकानी गरेका थिए । 

तीन दलका शीर्ष नेताहरूपछि मेयर शाहले मुख्यमन्त्री र मन्त्रीसँग पनि भेट गरेका छन् । एक साताको अवधिमा उनले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग पनि भेट गरे । उनीहरूबीचको भेटका क्रममा फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

बालेनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरिसकेका छन् । उनले विशेषगरी काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफलका लागि पटकपटक मन्त्री झाँक्रीसँग भेट गरेका हुन् । भेटमा मेयर शाहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । 

काठमाडौंको मुख्य सडकमै फोहोरको थुप्रो हुन थालेपछि मेयर शाह समस्या बुझ्नका लागि पटकपटक सिसडोल र बन्चरेडाँडा पुगिसकेका छन् । तर, त्यहाँका स्थानीय बासिन्दाले आफूहरूको माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने भएपछि अहिले काठमाडौंको धेरै स्थान दुर्गन्धित भएका छन् । शीर्ष नेताहरूको भेटपछि पनि बालेनले फोहोर व्यवस्थापनको कामलाई अगाडि बढाउन नसकेपछि विभिन्न प्रश्नसमेत उठ्न थालेका छन् । 

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले ट्विटरमार्फत् प्रश्न गरेका छन्, ‘बालेन सर रातदिन कुद्याकुदेई छन्, तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो, उठेन त काठमाडौंको दङदङी गनाउने फोहोर? बालेन सरले जनहितका एकाध काम गर्न सके पथभ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक, अलिकता सबक मिल्थ्यो कि भन्या!’  

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १२:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया