काठमाडौं महानगरले सञ्चालन गर्‍यो कल सेन्टर

आजदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । 

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । 

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनु पर्छ,’ उनले भने । 

महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले बताए । 

उनले भने, ‘सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सिडिआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ । 



गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नम्बर, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । 

त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रूपमा  गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । 



इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङले बताए । 

उनले भने, ‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाइ गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खबर पनि गर्नुपर्छ ।’

महानगरको सेवा, महानगरका  वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो । 

सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ । तर, गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अंक थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १८:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया