काठमाडौं महानगरपालिकाको फोहोर उठाउने सहमति जुटेको छ । प्रभावित जिल्लाका प्रतिनिधिसहितको बैठकमा भोलिबाट नै काठमाडौंमा थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।
सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार साँझ बसेको काठमाडौं र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच वार्ताले काठमाडौं महानगरमा थुप्रिएको फोहोर उठाउने सहमति जुटाएको हो ।
सहमति जुटेसँगै काठमाडौंको फोहोर भोलिबाट उठ्ने छ । सहमतिपत्रमा मन्त्री झाँक्री, काठमाडौंका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार काठमाडौं महानगरले प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ बीमा गर्ने छ । त्यस्तै, प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधारका लागि काठमाडौं महानगरले छुट्याउँदै आएको बजेटलाई निरन्तरता दिने छ ।
१० भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउन सुरु गरिने र फोहोरको स्रोत छुट्याउने प्रक्रिया सुरु गर्दै तत्कालका लागि उपत्यकामा थुप्रिएको फोहोरलाई अहिलेकै अवस्थामा असार मसान्तसम्ममा उठाइसक्ने सहमतिमा उल्लेख छ ।
काठमाडौं महानगरले भोलिदेखि नै फोहोर उठाउने र माटोले छोप्ने व्यवस्था मिलाउने सहमति पनि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।