चलायमान बन्दै लुम्बिनीमा पर्यटकीय गतिविधि, मोदीको भ्रमणपछि भित्रिए १३ हजार भारतीय पर्यटक

कोभिडले शून्य अवस्थामा पुर्‍याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तव्य पनि लुम्बिनी बन्दै गएको छ । यही २ जेठमा मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए । त्यसयता मात्र लुम्बिनी आएर झण्डै १३ हजार अर्थात् १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् ।

भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म) मा मात्र ७ सय ८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २ सय ४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् । तथ्याङ्कअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो । सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७ सय ७५ भारतीय पर्यटक लुम्बिनी आए । 

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ । 



विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी गिरावट आएको छ । 

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे ।



यस वर्ष २०२१ को मेसम्म पाँच महिनाको अवधिमा मात्रै २ लाख ८९ हजार ५ सय ९४ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । यो तथ्याङ्क भने रूपन्देही, कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको सङ्ख्या हो । 

कोषले आन्तरिक पर्यटकका लागिसमेत टिकटको व्यवस्था गरेको छ । रूपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक जिल्लाका आन्तरिक पर्यटकहरूबाट पनि प्रवेश शुल्क कोषले लिने गरेको छ । 

नेपाली विद्यार्थीहरूलाई भने ५० प्रतिशत सहुलियतमा टिकट दिने गरेका कोषले जनाएको छ । कोषका अनुसार बुद्धप्रतिको आस्था बढ्दै गएकाले उनको जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर आउने दर्शनार्थीहरूको सङ्ख्या बढ्दै गएको हो । 

लुम्बिनीमा ध्यानसम्बन्धी देशव्यापी कार्यक्रम हुने गरेको छ । त्रिपिटक च्यान्टिङ्गलगायत आध्यात्मिक कार्यक्रमसँगै अन्य कार्यक्रम पनि यहाँ हुने गरेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने बताए । 

  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ८:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया