राष्ट्रियसभाको विशेष समयमा सांसदहरूले उठाए मलदेखि काठमाडौंको फोहोरसम्मका विषय
फाइल तस्वीर

राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्तले मलको अभाव बर्सेनि हुनेगरेको भन्दै यसमा सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । उनले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थी भर्ना भएको दुई महिना बितिसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले आधारभूत माध्यमिकसम्मको शिक्षा निःशुल्क हुने कुरा संविधानमा उल्लेख भए पनि सरकारी विद्यालयले कतिपय ठाउँमा विभिन्न बहानामा शुल्क लिने गरेको भन्दै यसलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

त्यस्तै, राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले बर्दियाको नरभक्षी बाघबाट सुरक्षा दिन माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सरकारको तर्फबाट गोली चलाउनु उचित नभएको बताए । उनले प्रहरीले चलाएको गोली लागि कक्षा १२ को परीक्षा दिएर घर फर्किएकी नविना थारुको निधन भएको भन्दै सत्यतथ्य कुरा सदनमा प्रस्तुत गर्न सरकारसँग आग्रह गरे । 

उनले इम्बोस्ड प्लेट नम्बर राख्दा नेपाललाई वर्ष दिनमा १० अर्बमाथि व्ययभार पर्ने भन्दै निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले एकपछि अर्को वस्तुको मूल्यवृद्धि गरेर जनताप्रति उत्तरदायी नरहेको प्रमाणित गरेको आरोपसमेत लगाए ।

त्यस्तै, राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय निकाय मात्रै नभइ तीनै तहका सरकार मिलेर फोहोर व्यवस्थापनमा तत्काल लाग्नुपर्ने आवश्यक्ता रहेको औँल्याए ।



उनले भने, ‘फोहोरको उचित व्यवस्थापन समयमा नै नगर्ने हो भने हैजाको रुपमा महामारी उत्पन्न हुने स्थिति छ । यो काठमाडौं, मेयर बालेन साहको समस्या हो भन्ने मात्र होइन, यो तीनै तहको सरकारको समस्या हो । त्यसकारण यो फोहोरको छिटै नै उचित व्यवस्थापन गरिनुपर्छ ।’

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन २०७७/०७८, लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ सभामा पेस गरे । राष्ट्रियसभाको अर्को बैठक बुधबार दिउँसो १ बस्नेछ । 



  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १८:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया