‘राष्ट्रिय पोसाक’ संरक्षण अभियानसँगसँगै व्यापार

काठमाडौं– २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा दौरा–सुरुवाललाई मात्रै राष्ट्रिय पोसाकको रूपमा अर्थ्याउन नहुने घोषणा सरकारले गर्यो । प्रधानमन्त्रीका रूपमा नेपालका सबै जात–जातिका पोसाक राष्ट्रिय पोसाक भएको घोषणा गरे ।

भट्टराईको यस्तो घोषणापछि दौरा–सुरुवाल र साडी चोलोलाई राष्ट्रिय पोसाक मान्नेहरूले विरोध पनि गरे । तर, एकथरी समूहले भने दौरा–सुरुवाललाई नै राष्ट्रिय पोसाक भन्दै ‘राष्ट्रिय पोसाक संरक्षण महाअभियान’ नै सुरु गरे । अभियान सुरु गर्नेे समूहले २०७० पुस १७ गतेबाट जनवरी १ लाई राष्ट्रिय पोसाक र टोपी दिवसका रूपमा मनाउने तयारी गरे ।

सो अभियानलाई पछ्याउँदै धेरैले जनवरी १ का दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्दै आएका छन् ।  धेरैले सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाएर  तस्बिर खिचिरहँदा यही अभियानमा जोडिएका एक युवाले भने पुरुषले लगाउने दौरा–सुरुवाल र टोपीबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
 
‘राष्ट्रिय पोसाक अभियान’मा जोडिएका राजानन्द माण्डव्य अहिले यिनै राष्ट्रिय पोसाकको व्यापार गरिरहेका छन् । सूचना प्रविधि (आइटी)का विद्यार्थी माण्डव्य अहिले बानेश्वरको संसद् भवनपछाडिपट्टि ‘राष्ट्रिय पोसाकघर’ सञ्चालन गरिरहेका छन् । राष्ट्रिय पोसाकघरमा सिजनको समयमा मासिक एक सय जोरभन्दा बढी पोसाक बिक्री हुने गरेको छ । जसबाट मासिक ६ देखि १० लाखको व्यापार हुने गरेको माण्डव्य बताउँछन् । 

राट्रिय पोसाक संरक्षण अभियानमा लागि रहँदा माण्डव्यले बजारमा दौरा–सुरुवाल र ढाका टोपी तथा साडी–चोलो सबै चिज एकै ठाउँमा किन्ने स्थान नभएको कुरा थाहा पाए । त्यसपछि उनले व्यापार र अभियान एकै स्थानबाट चलाउने सोच राखेर ‘राष्ट्रिय पोसाकघर’ खोले । ‘अभियानकर्र्मीलाई नै दौरा–सुरुवाल, टोपी तथा साडी–चोलो एकै स्थानमा किन्न गाह्रो भयो,’ माण्डव्य भन्छन्, ‘त्यसपछि मैले यी सबै कुरा एकै स्थानमा बिक्री गर्ने सोच बनाएँ ।’

एक वर्षको अध्ययनपछि उनले भाइ श्याम बजगाईंसँग मिलेर बानेश्वरमा पोसाकघर सुरु गरेका हुन् । ‘एक वर्ष त मैले लुगाको गुणस्तर, लुगा सिलाउने स्थान, कपडा आयात गर्ने र पसल राख्ने स्थान खोज्नै बिताएँ,’ उनी सुनाउँछन् ।

एक वर्षको अध्ययनपछि माडव्यले २०७० चैतमा ‘राष्ट्रिय पोसाकघर’को नाममा दौरा–सुरुवाल, टोपीको पसल खोले । छिट्टै नै साडी–चोलोको पनि व्यापार सुरु गर्ने उनको सोच छ ।



अहिले माण्डव्य दाजुभाइको पसलमा उच्चपदस्थ व्यक्ति पनि किन्न आउँछन् । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितदेखि धेरैजसो सांसदहरूले आफ्नै पसलबाट दौरा–सुरुवाल किन्ने गरेको सुनाउँछन्, माण्डव्य । यसबाहेक विदेशमा रहेका नेपालीले पनि दौरा–सुरुवाल अर्डर गर्ने गरेको उनी बताउँछन् ।

‘राष्ट्रिय पोसाकघर’मा अल्लो, खाडी, लोक्ताबाहेक भारतबाट आयातीत कपडाको पनि दौरा–सुरुवाल तयार गर्ने गरेको बताउँछन्, माण्डव्य । पसल बानेश्वरमा भए पनि लुगा भने जोरपाटीमा रहेकोे कारखानामा सिलाउने गरेको बताउँछन्, बजगाईं । कारखानामा ६ जना भारतीय कामदारसहित १३ जनाले रोजगारी पाएका छन् ।



पछिल्लो समय विभिन्न दिवस र विवाह, व्रतबन्ध आदिमा दौरा–सुरुवालको प्रयोग बढ्न थालेपछि माण्डव्य हौसिएका छन् । उनी अब छिट्टै सातवटै प्रदेशमा ‘राष्ट्रिय पोसाकघर’को शाखा खोल्ने तयारीमा छन् ।

व्यापार गरेर नाफा कमाउने मात्रै सोच नराखेको बताउँदै माण्डव्य भन्छन्, ‘हामी नाफाको १० प्रतिशत सामाजिक कार्यमा खर्च पनि गर्छौं ।’ राष्ट्रिय पोसाकघरमा ३० लाखभन्दा बढी लगानी रहेको छ । दौरा–सुरुवाल तथा टोपीका लागि आउने सांसद, मन्त्रीदेखि जो–कोहीले पनि राष्ट्रियपोसाकको सिलाइ–बुनाइमा गुणस्तरीय भएको प्रतिक्रिया दिने गरेको माण्डव्य बताउँछन् ।

  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १५:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया