इलाम– चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने मुख्य माग राख्दै इलाम सदरमुकाममा १६औँ अनशन सुरु गरेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार दिउँसो एक र्याली निकालिएको छ । इलामकी महिला समाजसेवी विष्णुकुमारी लिम्बू दहालको अगुवाइमा निकालिएको समर्थन र्यालीले ‘केसीको समर्थनमा इलाम’ लेखिएका प्लेकार्ड बोकेर इलाम बजार परिक्रमा गरेको थियो ।
र्यालीमा स्थानीय सयजना जति महिलाहरुको सहभागिता रहेको थियो । र्यालीपछि इलामचोक बजारमा कोण सभा सम्पन्न गरिएको थियो । कोणसभा वक्ताहरूले डा. गोविन्द केसीका माग जायज भएको, जनताको पक्षमा रहेको, इलाममा मेडिकल कलेज खोल्ने कुराले इलामेलीलाई आशा जगाएको बताएका थिए ।
इलामको महिला जागरण संघ नामक गैरसरकारी संस्थाकी अध्यक्षसमेत रहेकी विष्णुकुमारीले कोणसभालाई सम्बोधन गर्दै केसीको समर्थनमा आफूहरू एकजुट भएको उल्लेख गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।