अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाब समिति गठन गरेको बताएक छन् ।
बुधबार नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन् । समितिले दिएको सुझाबका आधारमा पुँजीबजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत मन्त्री शर्माले जनाए ।
पुँजीबजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीहरुको समस्यालाई सरकारले गम्भीरताकासाथ हेरेर अनुगमनसमेत गरिरहेको उनले बताए । पुँजीबजारलाई व्यवस्थित गर्नेबारे सरकार चिन्तित रहँदै आएको पनि उनले स्पष्ट पारे ।
पुँजीबजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरु स्वायत्त नै रहेको दाबी गर्दै मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताए । आफ्नो क्षेत्रप्रति जवाफदेही नहुने तर स्वायत्तता मात्रै खोज्यो भने कुरा नमिल्ने मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐन बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । धितोपत्र बजार अर्थतन्त्रको ऐनको बनाउन आवश्यक सहजीकरण गर्न अर्थ मन्त्रालय गर्न तयार रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।