१२०१ फर्मलाई कारबाही १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालू आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाहीस्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ। 

विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चालू आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनीस्वरुप सचेत गराइएको जानकारी दिए। 

उनले ज्येष्ठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र वैशाख महिनामा ३०२ फर्मलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैयाँ जरिवाना गरिएको बताए। 

त्यसैगरी, ०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्म अनुगमन गरी २१ लाख ४० हजार र फाल्गुन मसान्तसम्म विभिन्न १९७९ फर्म अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए। 

उनले विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरू सहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए। 

‘विभिन्न समस्याका बाबजुद विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ,’ महानिर्देशक शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौँ।’



महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेको जानकारी दिए।

‘हामीले व्यापारीलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक–पटक अनुरोध गर्नुका साथै आमउपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा जानकारी दिन अपिल गरिरहेका छौँ,’ महानिर्देशक शर्माको भनाइ छ।



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १९:१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया