शिक्षाको नाममा व्यापारः आइएसएमटीका विराटनगर, पाेखरा र चितवनका कलेज गैरकानुनी

नेपालमा बेलायती डिग्रीको शिक्षा प्रदान गर्ने भन्दै खुलेको आइएसएमटी कलेजले कानुनको धज्जी उडाउँदै विभिन्न प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ । 

काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजले प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र बागमती प्रदेशको चितवनमा नै आफ्ना शाखा कलेजहरु स्थापना गरेर अध्यापन गराइरहेको छ । यो गैरकानुनी हो । आइएसएमटी कलेजले भने कम्पनी रजिस्ट्रर कार्यालयमा प्राइभेट लिमिटेड एउटै नाममा र स्थानको नाम जोडेर बनाउँदै यी कलेजहरु चलाइरहेको हो ।

आइएसएमटी कलेजले विराटनगरमा आइएसएमटी विराटनगर प्राइभेट लिमिटेडको नाममा कम्पनी दर्ता गरेर कलेज सन्चालन गरिरहेको छ । यसअघि हार्टफोर्डसायरको सम्बन्धन भनेर गलत सूचना दिँदै शिक्षाको व्यापार गरिरहेको आइएसएमटीले सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन पनि यही आधारमा लिएको हुँदा आफूहरु ठिक भएको दाबी गर्दै आएको छ ।

तर, सन्डरल्यान्ड विश्वविद्यालयको वेबसाइटमा उपलब्ध जानकारीअनुसार आइएसएमटी कलेजले शाखाका रुपमा विराटनगरलाई छुट्टै कलेज मानेर सम्बन्धन दिएको छैन । उसको वेबसाइटमा भएको जानकारीअनुसार उसले आइएसएमटी कलेजलाई सम्बन्धन दिएको उल्लेख गरिएको छ, फरक फरक स्थानका आइएसएमटी कलेजलाई सम्बन्धन दिएको उल्लेख गरिएको छैन ।

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेललाई हामीले विराटनगरमा आइएसएमटी कलेजले शाखाका रुपमा आफ्नो कलेज चलाइरहेको विषयमा जिज्ञासा राखेका थियौँ । 

उनले यसरी शाखाका रुपमा शिक्षाको व्यापार गरिनु अत्यन्त गलत भएको बताए । ‘नेपालमा शिक्षाको नाममा व्यापार गर्नका लागि यस्तो गएिको हो भने यो ठगी धन्दा हो,’ उनले भने, ‘यसले विद्यार्थीको भविष्य अन्यौलमा पर्ने मात्र होइन, हाम्रो शिक्षाको इकोसिस्टममा समेत समस्या ल्याउन सक्छ ।’



ढुंगेलले यस विषयमा आफूहरुले अब कानुनी उपचारका लागि सशक्त कार्यक्रमहरु अगाडि सार्ने र सबैलाई कानुनी दायरामा ल्याउन पहल गर्ने बताए ।

विदेशी सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने कलेजहरुको संघ आइप्यानका एक सदस्यले आइएसएमटीले गलत गरिरहेको स्वीकार गरे ।



‘यो निकै गलत प्राक्टिस हो,’ ती सदस्यले भने, ‘हामीले आइएसएमटीका सन्चालकलाई बारम्बार यस्तो नगर्न भनेका छौँ । तर, सुनुवाइ भएको छैन । अब यसबारे उजुरी हामी शिक्षा मन्त्रालयमा दिँदैछौँ ।’

कानुनी छिद्रलाई प्रयोग गरेर तपाईंहरुले गलत तरिकाले विभिन्न स्थानमा शाखा सन्चालन गरिरहनु भएको रहेछ नि भन्ने फरकधारले प्रश्न गर्दा आइएसएमटी कलेजका सन्चालक योगेश उप्रेती भनिने गणेश उप्रेती सम्पर्कमा आउन चाहेनन् । 

यही विषयमा गैरकानुनी विराटनगरको आइएसएमटी कलेजकी प्रिन्सिपल रुजा कोइरालाले चाहिँ फरकधारसँग आफ्ना कुरा राखेकी छिन् । ‘यहाँ गैरकानुनी हो भन्नेबारे मलाई थाहा भएन, तर यो आइएसएमटी कलेजको शाखा हो,’ उनले भनिन्, ‘यो विषयमा तिनकुनेको कलेजमा र व्यवस्थापनामा बुझ्नु होला ।’

‘हामीले फरक फरक कम्पनी दर्ता गरेर कम्पनी ऐनअनुसार काम गरेका छौँ,’ कलेजले दाबी गरेको छ ।  तर, कलेज सन्चालनका लागि कम्पनी ऐनभन्दा पनि शिक्षा ऐन जिम्मेवारी हुने कुरालाई उसले ‘स्किप’ गर्न खोजेको छ ।

विराटनगरको आइएसएमटी कलेज गैरकानुनी रुपमा सन्चालनमा रहेको विषयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खड्काले फरकधारसँग भने, ‘कलेजको शाखा भन्ने विश्वास गर्न सकिने कुरा नै होइन । यो सरासर ठगी हो, यो नियन्त्रणमा आउनु पर्छ ।’

आइएसएमटी कलेजमा अध्ययनरत विद्यार्थीहरुले नै पनि आइएसएमटी कलेजले पछिल्लो समय व्यापार मात्र गरेको र शिक्षामा ध्यान नदिएको गुनासो गर्न थालेका छन् । आइएसएमटी कलेजका चितवन र पोखरा शाखा पनि अवैधानिक रुपमा सन्चालित छन् । यसबारे फरकधारमा फलोअप प्रकाशित हुनेछ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सन्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ को परिच्छेद ५ मा स्पष्ट रुपमा निर्देशिकाका सर्त पूरा नगरेका कलेजको सम्बन्धन खारेज गर्न सकिने बताइएको छ ।

त्यस्तै, परिच्छेद ६ को ९ को गमा यसरी विदेशी सम्बन्धनमा सन्चालित कलेजले स्थानान्तरण गर्न नपाउने वा यसका लागि शिक्षा मन्त्रालयको अनुमति लिइनु पर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ । तर, आइएसएमटी कलेजले यसलाई पनि पूरा गरेको छैन । 

त्यसो त, यही कलेजले केहीअघि सम्म विद्यार्थीहरुलाई गलत सूचना दिँदै शिक्षाको व्यापार गर्दै आइरहेको थियो । त्यति बेला आइएसएमटी कलेजले आफूसँग नभए पनि हार्टफोर्डसायरको सम्बन्धन भएको गलत सूचना दिँदै आएको थियो ।

शिक्षा मन्त्रालयका उच्च शिक्षा शाखाका एक अधिकारी आइएसएमटी कलेजलगायत केही विदेशी सम्बन्धनमा चलेका कलेजहरुले यसअघि पैसाको चलखेल गरेर नयाँ कार्यक्रम वा सम्बन्धन थपेको बताउँछन् । 

‘कानुनको छिद्र प्रयोग गरेर र शिक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारीको मिलेमतोमा उसले अन्यत्र कलेज चलाइरहेको हो,’ ती अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘शिक्षा मन्त्रालयमा यो विषयमा उजुरी परेमा उसले अनुमति पाएको एउटा कलेजबाहेक अरु बन्द हुनेछन् ।’

याे पनि पढ्नुहाेस्:​

विद्यार्थीलाई अन्योल र भ्रममा राख्दै, गलत सूचना दिएर शिक्षाको व्यापार गर्दैछ आइएसएमटी कलेज

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १५:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया