के एमालेले साँच्चिकै प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको छैन ?
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्वीर ।

केही दिन यता राष्ट्रिय राजनीतिमा सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंकाहरु बढ्न थालेका छन् । विशेषगरि गठबन्धनका दलहरुबीच विभिन्न विषयमा मतभेद देखिन थालेपछि यस्ता आशंकाहरु हुन थालेका हुन् । 

३० वैशाखमा भएको स्थानीय निर्वाचनमा गठबन्धन गरेर अगाडि बढेका दलहरुले आआफ्ना कमजोरीका कारकका रुपमा गठबन्धनमा भएको अन्तर्घातलाई दोषारोपण गरिरहेका छन् । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रबाट धोका भएको भनिरहेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसका कार्यकर्ता इमान्दार नभएको आरोप लगाइरहेका छन् । 

यसले गर्दा पछिल्लो समय सत्तारुढ पाँच दलमा केही मतभेद देखिएका छन् । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सूची प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई दिए पनि अहिलेसम्म यो कार्यान्वयनमा जान सकेको छैन । 

प्रधानमन्त्री नै मन्त्रिपरिषद् रिसफल गर्न अनिच्छुक भएको समाचार बाहिर आइरहँदा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्न नै पर्ने दबाब दिन थालेका छन् ।

अर्कोतिर, नेकपा माओवादी केन्द्रमा पनि मन्त्रीहरु परिवर्तन हुनु पर्ने आवाज उठ्न थालेको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीमा यस्तो आवाज उठेको र यसबारे गम्भीर भएर छलफल गर्नु पर्ने बताएका छन् । 



यहीबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेकपा एमालेले गठबन्धन फुटाएर एमालेसँग मिल्दा प्रधानमन्त्रीको पद अफर गरेको दाबी गरेका थिए । आगामि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गराउनका लागि बन्ने सरकारको नेतृत्वको अफर आए पनि आफू त्यो कोर्षमा नभएको उनले बताएका थिए ।

तर, शुक्रबार विराटनगर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । उनले एमालेबाहेक अरु कुनै पनि दल वामपन्थी नभएको मात्रै बताएनन्, आफूहरुले अहिले कसैलाई पनि प्रधानमन्त्री वा अरु केही अफर नगर्ने पनि बताए ।



के प्रचण्डले यसअघि एमालेबाट आफूलाई आएको अफर भनेर गरेको दाबी गलत हो त ?

हामीले यही प्रश्न नेकपा एमालेका एक पोलिटब्यूरो सदस्यलाई सोध्यौँ । 

‘एमाले अहिले सरकारमा जाने कोर्षमा वा सरकार फेर्ने कोर्षमा पक्कै पनि सहभागी छैन,’ उनले भने, ‘हो, वामपन्थी एकताका लागि पार्टीमा छलफल भएका हुनसक्छन् तर अहिले सरकारमा जाऔँ र अरु कसैलाई प्रधानमन्त्री बन्नुस् भन्ने चरणमा पार्टीबाट पहल भएको छैन ।’

यसो भन्दाभन्दै पनि उनले राजनीतिमा कुनै पनि पूरै असम्भव भनेर त्यसलाई पूूर्णरुपमा अस्वीकार गर्ने वा छलफलको विषय नै नहुने सोच्न नहुने बताए । 

‘तर, राजनीतिका कोर्षमा असम्भव लागेका कुराहरु नै सम्भव हुनसक्छन्,’ उनले भने, ‘पछिल्लो समय विभिन्न पार्टीका नेताहरुलाई केही अफर गएको पनि हुनसक्छ । त्यो चाहिँ पूर्णरुपमा समय र परिस्थितिले निर्धारण गरेको कुरा होला ।’

एमालेले स्पष्ट रुपमा प्रधानमन्त्रीको अफर नगरेको भए पनि यसबारे औपचारिक रुपमा प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले फरकधारलाई बताए ।

‘छलफल नै नगर्ने भन्ने विषय होइन,’ उनले भने, ‘तर, यसबारे एमालेबाट औपचारिक प्रस्ताव आएको छैन ।’

एमालेले प्रस्ताव नै नगरि आखिर प्रचण्डले किन आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरे त ? हामीले यही प्रश्न नेपाली कांग्रेसमा प्रधानमन्त्री देउवासँग निकट एक केन्द्रीय सदस्यलाई सोध्यौँ ।

‘उहाँहरुले गठबन्धन फुटाएर कांग्रेसको सरकार ढाल्न सकिन्छ भन्ने मनोभावअनुसार यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ,’ ती नेताले भने, ‘आगामि निर्वाचनमा गठबन्धन गरेर जानका लागि बार्गेनिङ टुलका रुपमा पनि यस्तो भाष्य विकास गरिएको हुुनसक्छ ।’

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १९:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया