प्रज्ञाद्वारा ६ सय अनुवादक परिचय कोश प्रकाशन

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोश’ प्रकाशनमा ल्याएको छ । 

नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बंगाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६ सय अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोश प्रकाशनमा ल्याएको हो । 

विसं २०६५ मा स्थापना भएको अनुवाद विभागको सक्रियतामा पहिलोपटक अनुवादक साहित्यकारका बारेमा लेखिएको ‘अनुवादक परिचय कोश’ प्रकाशन गरिएको हो । अनुवाद गरिएका ग्रन्थको सूची विसं २०५९ मा प्रकाशन भइसके पनि अनुवाद गर्ने साहित्यकारको नाम भने पहिलोपटक प्रकाशित भएको हो । 

प्रा.डा. गोविन्दराज भट्टराई प्रधान सम्पादक तथा प्रा.डा. योगेन्द्र यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नवीन चित्रकार र माधवप्रसाद लामिछाने सम्पादक रहेको पुस्तकमा स्वदेश तथा विदेशमा बसेर नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आएका अनुवादक साहित्यकारलाई समावेश गरिएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती स्वदेशी तथा विदेशी साहित्य आदान–प्रदानका लागि अनुवादक साहित्य कशले महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रतिष्ठानले उक्त कोश प्रकाशनमा ल्याएको बताए । ‘आगामी दिनमा प्रज्ञा–प्रतिष्ठानले अनुवादक साहित्यलाई झन् महत्व दिएर अगाडि बढ्छ,’ उनले भने ।  

पुस्तकमा अभि सुवेदी, अनिशा रिमाल, अनुराधा शर्मा, आशाकाजी बज्राचार्य, ए.एम. स्याङ्देन, ए.डब्लू कर्नेलिअस, ए.डी मोलोनी, कुलमणि देवकोटा, केशरशमशेर जबरा, गीता मानन्धर, रमेश विकललाई समावेश गरिएको छ । 



यस्तै, कोशमा शंकर कोइराला, शरदचन्द्र वस्ती, विजय चालिसे, डेविट रुविन, टी.डब्लू क्लार्क, जोन बिम्स, जयराज आचार्य, चक्रपाणि चालिसेलगायत स्वदेशी तथा विदेशी साहित्यकारको परिचयलाई समावेश गरिएको छ । 

अनुवाद विभागका प्रमुख प्रा.डा. उषा ठाकुरले स्वदेशी तथा विदेशी भाषा साहित्यलाई विश्वमा सञ्चार गर्ने माध्याम नै अनुवाद साहित्य भएकाले यसलाई प्रष्ठिानले छुट्टै विभाग बनाएर काम गरेको बताइन् । पहिलो चरणमा ६ सय अनुवादक साहित्यकारको नाम समावेश गरेर पुस्तक प्रकाशनमा ल्याए पनि यसलाई बिस्तारै परिमार्जन गर्दै लैजाने. उनले बताइन् । 



प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले पछिल्लो समय ‘रनमाया उपन्यास’ अंग्रेजी भाषामा अनुवाद,  ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद,  ‘देवदास उपन्यास’ नेपाली अनुवाद,  ‘रवीन्द्रनाथ टैगोरकी प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’लाई नेपालीमा अनुवाद गरेको छ । 

यसैगरी,  ‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद,  ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद,  ‘द रिभल मर्निङ’  ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद,  ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद,  ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद,  ‘सोमली र सोहागिन मैथली कथासंग्रह’ नेपाली अनुवाद गरेको हो । 

  • प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार १४:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया