[प्रकाश पाण्डेकाे विचार] के नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्न सक्छ ?

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्न सक्छ । आजभन्दा करिब १० वर्षअघि देखि हामीले एउटा सोच निर्माण गरेका थियौँ, विभिन्न पहलकदमी पनि हामीले योबीचमा लिएका छौँ ।

हामीले विदेशबाट पनि नेपालमा पढ्नका लागि विद्यार्थी पनि ल्याउन सक्छौँ । नेपालबाट अहिले पनि उल्लेख्य रुपमा विद्यार्थीहरु पढ्न विदेश गइरहेका छन् । राम्रा अवसरका लागि विदेश जाने संख्या कम छैन । भारत, मलेसिया तथा थाइल्यान्डले आफूलाई शैक्षिक गन्तव्यका रुपमा विकास गरिरहेका छन् । यी देशबाट सिकेर भए पनि हामीले विदेशबाट विद्यार्थीहरुलाई पढ्न नेपाल ल्याउन सक्छौँ ।

हामीले १२ वर्षअघि नेपाललाई शैक्षिक गन्तव्यका रुपमा विकास गरौँ भनेर आवाज उठाउन थाल्यौँ । नेपालको वाणिज्य नीतिमा पनि नेपाललाई शैक्षिक हबका रुपमा विकास गर्ने विषय छ । यसअघि शिक्षा नीतिमा पनि हामीले नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने भन्ने विषय राखेका छौँ, त्यो शिक्षा नीतिमा पारित पनि भएको छ । 

केही दिनअघि मात्र म काठमाडौं विश्वविद्यालयको निमन्त्रणामा एक कार्यक्रममा सहभागी भएको थिएँ । काठमाडौं विश्वविद्यालयले सुरुवातदेखि नै १३ प्रतिशत विद्यार्थी विदेशी रहेको जानकारी दिएको थियो । विदेशबाट केही सिमित कोर्षमा विदेशबाट विद्यार्थीहरु आउँदा रहेछन् । अब काठमाडौं विश्वविद्यालयले प्रत्येक विषयमा १० प्रतिशत विद्यार्थी विदेशबाट ल्याउने लक्ष्य राखेको छ । यसको अर्थ हो, काठमाडौं विश्वविद्यालयले विश्वास लिएको छ, नेपालमा विदेशबाट विद्यार्थी ल्याउन सक्छ ।

नेपाल एजुकेसन हब बन्न सक्ने अरु पनि आधार नभएका होइनन् । नेपालका विश्वविद्यालयहरु त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयको विश्वमा पनि राम्रो छवि छ । हो, यी विश्वविद्यालयले ग्लोबल ¥याङ्किङमा सहभागी नै भएका छैनन् । तर, यसलाई पनि त्यस ठाउँमा लैजान सकिन्छ । 



यसका लागि सबैभन्दा पहिले यहाँका राजनीतिक दल तथा नेताहरुमा नेपाल विदेशी विद्यार्थीको हब बन्न सक्छ भन्ने विश्वास लिनुपर्छ । यसका लागि राजनीतिक दल वा नेताहरुले विदेशबाट विद्यार्थी आउने कुराहरुलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नु पर्छ । यसका लागि यहाँका विश्वविद्यालयहरुको भौतिक तथा ह्युमन रिसोर्सको विकास गर्नु पर्ने देखिन्छ । 

यसका लागि हामीले विभिन्न आधारहरु बनाउनु पर्छ । विदेशी विद्यार्थी आएपछि समयमा नै अध्ययन सकिन्छ, कस्ता शिक्षकहरु छन् भन्ने आधार तय भएको हुनुपर्छ । यसका लागि क्वालिटी ह्युमन रिसोर्सको आवश्यक छ ।



हामीले कस्ता विषयमा विदेशबाट विद्यार्थी पढाउन ल्याउन सकिन्छ भन्ने विषयमा पनि सोच विकास गर्नुपर्छ । कल्चरल स्टडिज, एग्रिकल्चर तथा टुरिजमका लागि विदेशी विद्यार्थीहरुलाई हामीले नेपालमा ल्याएर पढाउन सकिन्छ । हामीसँग भएका प्राकृतिक स्रोतहरुमाथि अध्ययन गर्ने आधार बनाउन सकिन्छ । 

हाम्रो मेडिकल एजुकेसन साउथ एसियामा राम्रोमा पर्छ । यसलाई पनि हामीले विदेशी विद्यार्थीका लागि आधारहरु बनाउन सकिन्छ । हामीले विदेशी विद्यार्थीहरुलाई ल्याएर यहाँबाट पनि पढ्न सक्ने बनाउन सकिन्छ । विदेशी विद्यार्थीहरुका लागि पनि छात्रवृत्तिको व्यवस्था हुनेलगायतका थप सुविधाहरु पनि हुनुपर्छ ।

हाम्रा विश्वविद्यालयहरुले आफ्ना कोर्षहरुलाई विदेशका विश्वविद्यालयसँग पनि एक्रिडिसन हुनसक्ने बनाउनु पर्छ । यसले गर्दा विदेशमा भएका विद्यार्थीहरु नेपाल आउने विश्वास बढ्न सक्छ, आधार तय हुन्छ । विदेशी विद्यार्थी पढ्न आउँदा उसले गरेको लगानी हामीले नडुब्ने आधार बनाउनु पर्छ । त्यसका लागि अन्य कानुनहरुको पनि आवश्यकता छ । केही कानुनी परिवर्तनहरु पनि आवश्यक छ भने हामीले त्यसको पनि रुपान्तरण गर्न सक्नु पर्छ । 

हाम्रा शिक्षण संस्थाहरुको क्वालिटीमा पनि हामीले ध्यान दिनुपर्छ । शैक्षिक मात्र होइन, नेपालमा आउने विद्यार्थीहरुले होस्टेल तथा बस्ने ठाउँहरुको व्यवस्थापनलाई पनि हामीले ध्यान दिनुपर्छ । त्यस्तै, विदेशी विद्यार्थी नेपाली नेपालमा रहँदा केकस्ता अधिकार पाउँछन्, उनीहरुले पालना गर्नु पर्ने नीति तथा नियमहरु बनाउनु पर्ने हुन्छ । यसका लागि विदेशी विद्यार्थी आउँदा चाहिने सबै भिसा प्रोसेसिङ सिस्टमलाई पनि विकास गर्नु पर्ने हुन्छ ।

विश्वमा अहिले पनि एजुकेसन डिप्लोमेसी अगाडि बढिरहेको छ । नेपाल विदेशी विद्यार्थीहरुका लागि हब बनाउन सकियो भने यसले पनि देशको विकासमा ठूलो सहयोग गर्छ । त्यसैले अहिले सबै राजनीतिक दल तथा नेताहरुले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने विषयमा सोच्नु पर्ने समय आएको छ ।

आजभन्दा दुई दशकअघि भएका केही कमजोरीका कारण नेपालीहरु विदेशमा बढी भविष्य देखिरहेका छन् । १२ कक्षा सकिएका विद्यार्थीहरु विदेश जाने कुरालाई प्राथमिकतामा राखिरहेका छन् । 

अब हामीले नेपालमा नै क्वालिटी ह्युमन रिसोर्स बन्न सकिन्छ भन्ने सोचको विकास गर्नुपर्छ । योमात्र होइन, अब नेपालमा नै पढेका विद्यार्थीहरुले रोजगारीको अवसरको ग्यारेन्टी पनि हुनुपर्छ । 

यसका लागि अब शिक्षा मन्त्रालय ह्युमन रिसोर्स मन्त्रालयका रुपमा पनि विकास हुनु पर्ने देखिन्छ । यसका लागि शिक्षा मन्त्रालयले विभिन्न अध्ययन गर्नु पर्ने अहिलेको आवश्यकता हो ।

अहिले धेरै देशका लागि नेपाल विद्यार्थीहरुका लागि सस्तो एजुकेसन डेस्टिनेसन हुनसक्छ, गन्तव्य हुनसक्छ । अहिले पनि नेपालमा अरु अमेरिका, जापान, जर्मनबाट विद्यार्थीहरु आउने गरेको पाइएको छ । तर, यो थोरै संख्यामा छ । अब हामीले आगामि दिनमा थप प्रयत्नहरु गर्न थाल्यौँ भने यसलाई हामीले परिवर्र्तन गर्न सक्छौँ । र, नेपाललाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिन्छ ।

(पाण्डे अन्तराष्ट्रिय शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष हुन् ।)

  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया