देउवा तयार छैनन् मन्त्रिपरिषद् रिसफल गर्न

सत्तारुढ गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले केही दिन यता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट बनेका मन्त्रीहरु फेर्न दबाब दिन थालेका छन् ।

यीमध्ये नेकपा एकीकृत समाजवादी पार्टीले त आफ्ना मन्त्रीहरुलाई फिर्ता मात्र बोलाएको छैन, मन्त्रिपरिषद्मा समावेश गर्नका लागि आफ्नो पार्टीबाट नयाँ मन्त्रीहरुको सूचीसमेत पठाइसकेको छ ।

तर, प्रधानमन्त्री देउवाले नचाहँदा अहिलेसम्म मन्त्रीहरु फेरिन सकेका छैनन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने प्रयोजनका कारण सरकार बनेकाले अहिले तत्काल मन्त्रीहरु फेरिँदा बाहिर राम्रो सन्देश नजाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बताइसकेका छन् । 

प्रधानमन्त्री देउवाको यस्तो जवाफ आएपछि मन्त्रीहरुको नयाँ सूचीसमेत तयार पारिसकेका नेकपा एकीकृत समाजवादीका नेताहरु चिन्तित छन् । त्यसैले हुनुपर्छ, पछिल्लो समय नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीले निर्णय गरिसकेपछि प्रधानमन्त्रीले त्यसलाई कार्यान्वयन गर्नु पर्ने अडान राख्न थालेका छन् ।

केही दिनअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि पार्टीको निर्णय नमान्दा गठबन्धनमा नै समस्या आउन सक्ने बताएका थिए ।



अर्कोतिर, नेकपा एकीकृत समाजवादीबाट अहिले मन्त्री भएकाहरुले पनि प्रधानमन्त्री देउवालाई मन्त्रीहरु नफेर्न सुझाव दिएका छन् । उनीहरुले बरु निर्वाचनको मिति घोषणा गर्दा तत्काल मन्त्रिपरिषद् परिवर्तन गर्न नपर्ने सुझाव देउवालाई दिएका छन् ।

‘लोकतन्त्रलाई बचाउन र संविधानको रक्षा गर्न यो सरकार बनेको हो,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारसँगको कुराकानीमा भने, ‘त्यसैले अहिले यो सरकार फेरिरहने कुराले बाहिर राम्रो सन्देश जाँदैन, अहिले पदका लागि होइन, संविधान रक्षाका लागि निर्वाचनमा फोकस हुनु पर्ने कुरा हो ।’



उनले यही बुझाइ र नेपाली कांग्रेसका नेताहरुले यही सुझाव दिएकाले प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद् रिसफल नगर्ने दाबी पनि गरे । ‘पहिलो कुरा त बजेट संसदबाट पारित गर्ने भन्ने कुरा छ, अर्को कुरा यसले राम्रो सन्देश नजाने भएकाले अहिले तत्काललाई यस्तो नगर्ने र गठबन्धनका अन्य दललाई सम्झाउने भन्ने बुझाइ रहेको छ,’ ती नेताले भने ।

तर, यही कारण गठबन्धनमा थप समस्या नआओस् भन्ने पनि देउवा चाहन्छन् । ‘यही विषयका कारण गठबन्धनमा खटपट नआओस् भन्ने पनि छ,’ ती नेताले भने, ‘आएको खण्डमा पनि कांग्रेस एक्लै चुनावमा जान अब तयार छ ।’

  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार ५:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया