नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए ।
बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासनविपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको अध्यक्ष बडालले बताए ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोणसम्बन्धी विषयवस्तु हुने पनि आयोगले जनाएको छ ।
त्यसैगरी बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौंधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्यमा थप गर्ने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।