जिसस दैलेखको प्रमुखमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर

जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलबार रिट दायर गरेकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखलगायतविरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुनबमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक विना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ ।

दैलेखको आठबिस नगरपालिका–७ को वडासदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली कांग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाऊँ भनी दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको शपथग्रहणलगायत सबै गैरकानुनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुनबमोजिम निर्वाचन गराउन परमादेश जारी पाऊँ,’ रिटमा भनिएको छ ।

गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका थिए । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । 



सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुन् । स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।



उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका हुन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी थिइन् ।

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकिलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डाँगी, नेपाली कांग्रेसका अंगबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए । 

जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहणपछि मंगलबार पदभारग्रहण समेत गरिसकेका छन् ।

  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २१:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया