रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री गहतराज र रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले दुईपक्षीय कार्ययोजनामामा बुधबार संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । 

भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । 

छलफलपश्चात् नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवैै देशबीच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोगलगायत विषय समेटिएको ‘रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना’मा दुवैै देशका खेलकुदमन्त्रीले हस्ताक्षर गरेका हुन् । 

सो अवसरमा बोल्दै रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताए । साथै उनले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

मन्त्री गहतराजले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । खेललाई कूटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामञ्जस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल उनले पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरे । मन्त्री गहतराजले रसियाका खेलकुदमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिए ।

उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कूटनीतिमा समेत आधारित हुने बताए । 



यसैबीच नेपाली प्रतिनिधि मण्डलले रसियाका मार्सल आर्टस् संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिए । छलफलमा अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पूर्वाधार, बक्सिङ एकेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताए । 

मन्त्रालयका सचिव रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री गहतराज असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 



  • प्रकाशित मिति : असार १, २०७९ बुधबार २२:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया