एसपिपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी हुन ०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । 

बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालीन अमेरिकी राजदूत एलिना बी टिप्लिट्जलाई पत्र लेखि एसपिपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । 

पत्र तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । पत्र सेनाले परराष्ट्र मन्त्रालयमार्फत नपठाई सीधै राजदूतलाई सम्बोधन गरी पठाएको छ भने बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई दिएको छ । 

सेनाले एसपिपीमा सहभागी हुन अमेरिकालाई पत्र लेख्दा देशको प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए । ओली नयाँ संविधान जारी भएपछि ०७२ असोज २५ गते पहिलोपटक देशको प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री बनेको १५ दिनपछि सेनाले अमेरिकी राजदूतलाई एसपिपीमा सहभागी हुन पत्र लेखेको थियो । 

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलन गरी एसपिपीमा सहभागी हुन नेपाल सरकार र नेपाली सेनाले प्रयास गरेको र त्यसलाई सन् २०१९ मा अमेरिकाले स्वीकृति दिएको जनाएका थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको यसै महिना हुने अमेरिका भ्रमणका बेला एसपिपी सम्झौता गर्न सक्ने भन्दै यसको चौतर्फी विरोध भएको थियो । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले यसको विरोध जनाउँदै एसपिपी सम्झौता नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
 
एसपिपीको धेरै विरोध भएपछि अमेरिकी दूतावासले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्पष्ट पारेको थियो । पत्रकार सम्मेलनमा दूतावासले एसपिपी सम्झौताको प्रस्ताव अमेरिकाले गरेको नभई नेपाली सेना र नेपाल सरकारले गरेको जनाएको थियो । 



अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेको केही मिनेटपछि नै नेपाली सेनाले त्यसको खण्डन गरेको थियो । सेनाले बुधबार नै एक विज्ञप्ति जारी गरी एसपिपी सम्झौता गर्न सेनाले हालसम्म कुनै प्रक्रिया अघि नबढाएको र यस्तो सम्झौता गर्न नहुने स्पष्ट शब्दमा भनेको थियो । 

सेनाले विज्ञप्ति जारी गरेको चौबिस घण्टा नबित्दै ०७२ कात्तिक १० गते सेनाले अमेरिकी राजदूतलाई पठाएको पत्र बिहीबार सार्वजनिक भएको हो । पत्रमा भविष्यमा एसपिपीमा सहभागी गराउन अनुरोध गरिएको छ । 




  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १७:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया