विवेकशील साझा फुट
विवेकशील साझामा फुटः मिश्र र थापा, कसलाई कति फाइदा कति घाटा ?
मास ठूलो बन्न सक्छ थापाको, मिश्र मिल्न सक्छन् बाबुराम भट्टराईसँग

काठमाडौं– विवेकशील पार्टी र साझा पार्टी एकताको एक वर्षपछि फुटेका छन् । शुक्रबार पार्टीका दुईमध्ये एक संयोजक उज्जवल थापाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए ।

शनिबार अर्का संयोजक रबीन्द्र मिश्रले पत्रकार सम्मेलन गरेर भावुक हुँदै पार्टी फुटले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताए ।

पार्टी फुटेर थापासहित एक समूहले नयाँ पार्टीका लागि निवेदन दिए पनि आफूहरुले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई नरोक्ने मिश्रको जोड छ ।

उता, पार्टीभित्र अपारदर्शी कामहरु भएको र मिश्रको कार्यशैली स्वेच्छाचारी भएको आरोप थापाले लगाएका छन् । उनले केही समयअघि प्रतिवेलदन नै सार्वजनिक गरेका थिए ।

अब यी दुई एकअर्कासँग छुट्टिएपछि वास्तवमा घाटा कसलाई पर्छ वा नाफा कसलाई हुन्छ भन्ने बहस पनि सुरु भएको छ ।

‘घाटा नाफाको कुरा भन्दा पनि हामीले समाजमा के गर्न खोजेका हौँ र समाजलाई कता लैजाने भन्ने कुरा महत्वपूर्ण हो,’ शुक्रबार टेलिफोनमा छोटो कुराकानीमा नयाँ दल दर्ताको आवेदन दिएपछि उज्ज्वल थापाले भने, ‘हामी एक अभियानमा छौँ, यो अभियान सफल भए सम्पूर्ण देशलाई नै फाइदा हुन्छ ।’



दुवै समूहका कुरा सुन्दा यो विश्वास गर्न सकिन्छ, यो फुट सैद्धान्तिक नभएर कार्यशैलीमा भएको मतभिन्नताका कारण हो । 

तर, अब फुट भइसके पछि यसले कसलाई कति फाइदा वा कति घाटा गर्छ ? हेरौँ केही बुँदाः



राजनीतिक पार्टी भएकाले सबैभन्दा पहिले फाइदा घाटाको सन्दर्भमा कार्यकर्ता वा फलोअर्सको प्रसङ्ग आउँछ । पार्टी एकता अगाडि नै विवेकशील दलमा सयौँ युवाहरु आस्था राख्थे । विवेकशील दलले गर्ने विभिन्न कार्यक्रममा कलेज पढ्ने युवाहरु स्वतस्फूर्त रुपमा पुग्थे । यो उसले लिएको अजेन्डाका कारण थियो । तर, जब थापा निर्वाचन आयोगमा दर्ता भएर मिश्रको साझा पार्टीसँग एकता गर्ने मोडसम्म पुगे, त्यति बेलासम्म धेरै युवाले उनको साथ छोडिसकेका थिए । दुई दल एक भएपछि उनीहरुलाई साथ छोड्ने झन् बढी भए । 

अहिले सामाजिक सन्जालमा हेर्ने हो भने हिजो विवेकशीलबाट असन्तुष्ट भएर भागेका युवाहरु फेरि विवेकशीलमा आउन खोजेका जस्ता देखिन्छन् । यो अर्थमा भन्ने हो भने थापालाई फलोअर्सको संख्यामा कमी हुने छैन, अझ बढ्ने छन् । तर, उनको समूहमा समाजमा प्रभाव पार्न सक्ने युवाको संख्या निकै कम हुने निश्चित छ । सानातिना अभियान वा आन्दोलनमा समूह ठूलो भए पनि थापाले राजनीतिक सफलता हासिल गर्न सहज देखिँदैन ।

फेरि विगतका विभिन्न प्रसङ्ग हेर्ने हो भने थापा राजनीतिक चरित्रका भन्दा बढी अभियन्ताका रुपमा आफूलाई उभ्याउन खोजेको पाइन्छ । त्यसैले राजनीतिक रुपमा थापा कहाँ जान्छन्, त्यो उनको भविष्यको यात्राले बताउला अहिले तत्काललाई चाहिँ मिश्रभन्दा ठूलो मास थापासँग हुने निश्चित छ ।

यसरी ठूलो मास र अभियानहरुमा सडकमा देखिने मास हुने भएकाले थापालाई पार्टी चलाउन पनि अलिक सहज हुने देखिन्छ । उनीसँग हुने युवाहरुको भीडले आफूलाई समाजमा प्रस्तुत गर्ने शैलीले मिश्रलाई अर्को चुनौति पनि थपिन सक्ने देखिन्छ । त्यसैले, अबको निर्वाचनमा यसअघि जस्तै सफलता मिश्रले नपाउन सक्छन् । 

तर, वैकल्पिक राजनीतिको निर्माण गर्छु भन्ने ध्येय बोकेकाले मिश्रलाई अर्को बाटो पनि खुलेको छ । त्यो हो– बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गर्ने । यसअघि थापाहरुको समूहकै कारण बाबुराम भट्टराईसँगको पार्टी एकताबारे मिश्रले सोच्न पनि पाएका थिएनन् । 

थापा र मिश्रमध्ये दुईलाई तुलना गर्ने हो भने थापा अभियान गर्ने कुरालाई बढी प्राथमिकता दिन्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ भने मिश्र महत्वाकांक्षी छन् । उनी आफूले पोजिसन होल्ड गरेमा मात्र अगाडि बढ्न सकिन्छ भन्ने विश्वास गर्छन् । 

पत्रकारिता गरेकाले र कलालाई नजिकबाट नियालेको परिवारबाट आएकाले मिश्रले नेपाली समाजलाई अझ बढी बुझ्नु पर्ने हो । तर, थापाले लामो समय डेटा साइन्समा काम गरेका छन्, उनीसँग अहिले नेपाली समाजको बदलिँदो तथ्याङ्क छ । नेपाली समाजको प्रकृति र अहिलेको अवस्था, अहिलेको समाजको चाहना र युवाहरुको फेरिँदो दिनचर्याका विषयमा पनि यो फुटले मिश्रभन्दा थापालाई बढी सहयोग गर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्ः 

थापाका ‘निर्मम’ आरोपबीच किन नरम देखिए मिश्र ?


  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया